टेकराज पोखरेल /
नवलपुर, ८ साउन
गण्डकी प्रदेशकोे नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा प्रदेशकै सबैभन्दा बढी दुर्घटना भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेशमा भएका ४०५ वटा दुर्घटनामध्ये नवलपुरमा मात्रै १३८ दुर्घटना भएका हुन् । प्रदेशस्तरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले नवलपुरमा भएको सवारीसाधन दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका थिए । प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रुपमा नवलपुर रहेको र त्यहाँ गत वर्ष मात्रै त्यहाँ २०० सवारीसाधन दुर्घटनामा परेका बताउनुभयो ।
“नवलपुरमा भएको १३८ दुर्घटनामा २०० सवारीसाधन परेका थिए”, उहाँले भन्नुभयो, “दुर्घटनासँगै यो जिल्लामा दुर्घटनामा परेर भएको मानवीय क्षतिसमेत प्रदेशका अन्य जिल्लामाभन्दा बढी छ ।” सबैभन्दा कान्छो जिल्लामा भएको दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये ४३ पुरुष, चार महिला र दुई बालक रहेका र दुर्घटनामा परी १३९ जना सख्त घाइते भएका थिए । प्रहरी प्रमुख ढकालका अनुसार यस प्रदेशमा बढी दुर्घटना हुने दोस्रो जिल्ला तनहुँ भएकोे छ । त्यहाँ ९० वटा दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका र दुर्घटनामा १२८ वटा सवारीसाधन परेका थिए ।
तनहुँमा भएको दुर्घटनामा ३७ पुरुष, आठ महिला तथा तीन बालकले ज्यान गुमाएका थिएभने ७६ जना सख्त घाइते भएका थिए । प्रादेशिक राजधानीसमेत रहेको पोखरा भने बढी दुर्घटना हुने जिल्लामध्ये तेस्रो नम्बरमा परेको छ । यहाँ गत वर्ष ६४ दुर्घटनामा ९३ वटा सवारीसाधन परेको र ती दुर्घटनामा परी ४३ जनाले ज्यान गुमाएका प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।
कास्कीमा भएको दुर्घटनामा ३८ पुरुष, चार महिला र एक बालकले ज्यान गुमाएका थिए भने ती दुर्घटनामा सख्त घाइते हुनेको सङ्ख्या ६४ पुगेको थियो । प्रदेशमा भएका दुर्घटनाको सङ्ख्याको हिसाबमा स्याङ्जा जिल्ला आठौँ नम्बरमा रहे पनि दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो ।
यसैगरी बागलुङमा २३ वटा दुर्घटना १६ जनाले ज्यान गुमाएका र नौ जना सख्त घाइते भएका प्रहरी प्रमुख ढकालले बताउनुभयो । गत आर्थिक वर्षमा लमजुङमा २० वटा दुर्घटना हुँदा १२ जनाको मृत्यु २४ जना सख्त घाइते भएका र ती दुर्घटनामा २२ वटा सवारीसाधन परेका थिए ।यस्तै गोरखामा भएको १७ वटा दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।
पर्वत र म्याग्दीमा भएको सवारीसाधन दुर्घटनामा परी आठ÷आठ जनाले ज्यान गुमाएका थिए । प्रहरी प्रमुख ढकालका अनुसार पर्वतमा १८ दुर्घटनामा १९ वटा सवारीसाधन परेका थिए भने म्याग्दीमा भएको १२ दुर्घटनामा १२ वटै सवारीसाधन परेका थिए । ती दुर्घटनामा पर्वतमा १३ तथा म्याग्दीमा १२ सख्त घाइते भएका थिए । हिमाली जिल्लाको रुपमा रहेको मुस्ताङमा भएको पाँच वटा दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए । ती दुर्घटनामा संलग्न छ वटा सवारीसाधनबाट चार पुरुषको मृत्यु र एक सख्त घाइते भएका थिए ।
यस्तै हिमाल पारीको अर्को जिल्ला मनाङमा एउटा मात्रै भएको दुर्घटनामा छ जनाको मृत्यु भएको र अन्य दुई सख्त घाइते भएका थिए