बाग्मती प्रदेश- धादिङ जिल्ला अन्तर्गत पर्ने खनियाबास गाउँपालिका देशान्तर ८५ं०५’ देखि अक्षांश ८४ं९८’ सम्म फैलिएको छ । पछिल्लो राजनीतिक सहमतिसँगै साविकको झार्लाङ, दार्खा र सत्यदेवी गाविसलाई समाहित गरी खनियाबास गाउँपालिका नामकरण गरिएको हो ।
पालिकाको उत्तरमा रुवी भ्याली पश्चिममा गङ्गाजमुना, दक्षिणमा नेत्रावती गाउँपालिका र पूर्वमा नुवाकोट र रसुवा जिल्ला पर्दछ । यहाँका स्थानहरुको नाम, धर्म, संस्कार र सम्पदाहरुलाई विवेचना गर्दा यो पालिकामा धेरै वर्ष अघिदेखि मानव बस्ती रहेको अनुमान गर्न सकिन्छ ।
तामाङहरू बाहुल्य रहेको यस गाउँपालिकामा अन्य जातिको पनि बसोबास रहेको पाइन्छ । कुल २,९०२ घरधुरी रहेको यस गाउँपालिकामा १५२ घरधुरी मात्र गैरजनजाति छन् । बहुल जनजाति (९४.७६%) बसोबास गर्ने भएकाले प्रकृतिको पुजा गर्ने गर्दथे भन्ने प्रमाण बिभिन्न स्थानमा भएको न्यातास्हिप्ताका थानहरुले प्रष्ट पार्दछ ।
परम्परागत रुपमा बोन धर्मावलम्बीको प्रभाव रहेको यस स्थानमा बिस्तारै अन्य धर्महरुको पनि प्रभाव बढ्दै गएको पाइन्छ । अहिले हिन्दु, बौद्ध, इसाइ र बहाई धर्मावलम्बी समेत रहेको छ । संस्कारगतरुपमा भने हिन्दु, बौद्ध र इसाइ बिधि अनुसरण गर्ने गर्दछन् ।
घरधुरी सर्बेक्षण २०७५ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १३,९२२ रहेको छ, यो जनसंख्या जनगनणा २०६८को साबिक तिन गा.बि.स.को जनसंख्याभन्दा १,१७१ ले बढी हो । सोही प्रतिवेदन अनुसार अति गरिब ५८२, गरिब ५९०, मध्यम ५६९, सम्पन्न ५८५ र अति सम्पन्न ५७६ घरधुरी रहेको पाइन्छ । कुल भौगोलिक क्षेत्रफल १२०.८ बर्ग कि.मि.(१०५१९.३३ हेक्टर) रहेको छ ।
यस गाउँपालिका जिल्ला सदरमुकामदेखि करिब ४१ कि.मि. दुरीमा रहेको छ । यो गाउँपालिकाको केन्द्र दार्खाबाट सेवा प्रवाह हुँदै आएको छ । प्रकृतिक स्रोत साधनले भरिपूर्ण यस गाउँपालिकाको अधिकांश भू भाग जंगलले ढाकेको छ । खेती गरिएको जमिन करिब ३३ प्रतिशत मात्र रहेको छ । जल, जमिन, जंगल, जटिबुटीको विकासको पर्याप्त सम्भावना रहेको छ ।
आर्थिक, सामाजिक, शैक्षिक र भौतिक पूर्वाधारको आधारमा यस गाउँपालिकाले अझै बिकासको द्रुत गति लिइसकेको छैन । यसका लागि पर्याप्त बजेटको आवश्यकता रहेको छ । दिगो विकासका लागि दीर्घकालिन योजनाहरुको आवश्यकता पर्दछ । रोजगारी सिर्जनाका लागि पर्याप्त प्रयास गरिनु आवश्यक छ । कृषि, पशुपालन र पर्यटनको विकासले मात्र आन्तरिक आम्दानी बृद्धि गर्दछ ।
पर्यटनको विकासले मात्र रोजगारी प्रवर्धन र बाह्य मुद्रा आर्जन गर्न सकिन्छ । मिलनसार, बिनयी र दक्ष जनशक्ति उत्पादनमा पर्यटन उद्योगले सघाउ पुर्याउँदछ । शिक्षा, यातायात, उर्जा र सञ्चार क्षेत्रको पर्याप्त विकास भइसकेको छैन ।
यहाँ परम्परागत सीप र धार्मिक शिक्षा (छम, ङ्ह यु चुङ्प, ङा ल्हुङ लोप्प, व्हाइ लोप्प) ग्रहण तथा आदन प्रदान मानव सभ्यताको सुरुदेखि नै हुने गरिएको पाएतापनि औपचारिक विद्यालिय शिक्षा भने खनियाबास विद्रोह पश्चात वि.स.२०१९ बाट मात्र शुरु भएको पाइन्छ । तर औपचारिक शिक्षाको नाममा स्थानीय विषय र भाषालाई अवहेलना गरेका कारण यहाँका धार्मिक, सांस्कृतिक र ऐतिहासिक मुर्त र अमुर्त सम्पदाहरु वेवारिसे बन्न पुगेका छन् । यसमा हामी खनियाबास गाउँपालिकाभरका केही महत्वपूर्ण मुर्त सम्पदाको बारेमा चर्चा गर्ने प्रयास गरेका छौं ।
यस बृत्तचित्रमा पुराना तथा खुख्य मुख्य स्थलहरुलाई समावेस गरिएको छ । यसै गरी हामी पुस्तकको रुपमा पनि बिकास गर्दैछौ । पुस्तकमा खनियाबास गाउँपालिका भरिको नयाँ तथा पुराना सबै ऐतिहासिक, धार्मिक तथा पर्यटकिय महत्त्वका स्थालहरू गुम्बा, मठ, मन्दिर, चर्च, चौतारा, ठाटी जस्ता स्थलहरु समेत समाबेस गरिनेछ ।
निकट भविश्यमा सबै स्थलहरुको छुट्टा छुट्टै बृत्तचित्र समेत तयार गरिने छ । यस बृत्तचित्रको निर्देशक रोशन फ्युवा रहेको छन् भने निर्माण खनियाबास गाउँपालिकाको कार्यलय दार्खा धादिङ रहेको छ।
भिडियो हेर्नको लिंकमा जानुहोस