लुम्बिनी : बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८÷७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरसभाको नवौं अधिवेशनमा प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोना भाइरस महामारीको दोस्रो र सम्भावित तेस्रो लहरसँग जुध्दै त्यसको रोकथाम, व्यवस्थापन र उपचारमा केन्द्रित हुनेगरी कार्यक्रम लक्षित गर्ने नीति लिइएको बताउनुभयो ।
उहाँले महामारी र अन्य विपद्बाट नागरिकको जीवन रक्षलाई नीति कार्यक्रमको केन्द्रविन्दुमा राखेको जानकारी दिंदै संघीय र प्रदेश सरकारको समन्वयमा सबै नगरवासीलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चिताका लागि पहल गरिने बताउनुभयो । नीति तथा कार्यक्रम बालबालिकाको स्वास्थ्य र शिक्षा, युवाहरुका लागि रोजगारी सिर्जना र उद्यमशीलता; सीप विकास, जेष्ठ नागरिकलाई सम्मानमा केन्द्रित रहेको नगर प्रमुख सुवेदीकोे भनाइ थियो ।
कोभिड महामारीको पहिलो र दोस्रो लहरले सामाजिक र आर्थिक क्षेत्रमा प्रभावित पारिरहेको अवस्थामा ल्याइएको नीति तथा कार्यक्रम रोजगारी सृजना गरी आर्थिक विकासलाई निरन्तरता दिने, अधुरा बार्षिक र बुहबर्षीय योजना सम्पन्न गर्ने, वातावरणमैत्री पूर्वाधार विकास, सामाजिक र आर्थिक विकासबाट नगरवासीको जीवनस्तर उकास्ने, स्थानीय सरकारलाई प्राप्त अधिकारको यथेष्ट प्रयोग गर्ने र स्थानीय सेवा प्रवाहलाई जनमैत्री बनाउने जस्ता कुराहरुमा केन्द्रित छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले उपमहानगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीतिको स्पष्ट खाकाअनुसार नगर विकास योजना तर्जुमा गरी कार्यान्वयनलाई निदृष्ट गरेको नगरप्रमुखले स्पष्ट पार्नुभयो ।
कोरोना महामारीको सम्भावित तेस्रो लहरको पूर्वतयारी लक्षित ल्याइएको नीति कार्यक्रमले जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ । सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधासम्पन्न बनाउँदै मोतियाविन्दु भएर पनि आर्थिक अभावका कारण शल्यक्रिया गराउन नसक्नेहरुका लागि शल्यक्रिया गर्दा लाग्ने खर्चमा अनुदान दिने घोषणा बुटवलले नीति कार्यक्रममार्फत् गरेको छ ।
नीति तथा कार्यक्रममा महिलाहरुमा स्तन क्यान्सर, प्रसुती तथा गर्भवती परीक्षण, पाठेघर परिक्षण र १४ वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य समस्याको पहिचान र उपचारमा सहयोग पु¥याउने उल्लेख गरिएको छ ।
नगरका गर्भवतीलाई आइरन, क्याल्सियम लागायतका औषधीहरु निशुल्क वितरण गर्दै आधारभूत प्रयोगशाला सेवा निशुल्क प्रदान गर्ने, ‘नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम’लाई प्रभावकारी बनाई निशुल्क औषधी वितरण गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
उपमहानगरपालिकामा सञ्चालन गरिएका सरकारी स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न बनाउँदै पूर्ण खोप शुनिश्चितताका लागि सम्पूर्ण खोप क्लिनिक, कोल्ड चेन सेन्टरलाई थप प्रभावकारी बनाउँदै शहरी स्वास्थ्य केन्द्रबाट साप्ताहिक रुपमा खोप प्रदान गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
बुटवलले गुणस्तरीय शिक्षामा समतामूलक अवसर सृजना गर्दै विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधार गर्ने र सिकाई उपलब्धीलाई मापन योग्य बनाउँदै लैजाने नीति अवलम्वन गरेको छ । त्यसका लागि प्रविधि मैत्री विद्यालयको विकास गरी ‘सिङ्गो बुटवल, एक विद्यालय’को अवधारणा अनुरुप शिक्षाको नयाँ पद्धति अवलम्बन गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
तिलोत्तमाको बजेट झण्डै दुई अर्बको बजेट
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि झण्डै रु दुई अर्बको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको आज दशौं नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले रु १ अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गर्नुभएको हो । आगामी आर्थिक वर्षको बजेट चालु आवको तुलनामा रु ९ करोडले बढी छ । नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले कोभिड–१९ ले ल्याएको विषम परिस्थितिलाई समुचित सम्बोधन गरी रोजगारी र्सिजना, स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा बजेट केन्द्रीत रहेको बताउनुभयो ।
चालु आबदेखि शुरु गरिएको मध्यकालीन खर्च संरचनाअनुरुप योजनाको प्राथमिकीकरणसहित स्रोतको सुनिश्चितता गरी बजेटलाई वस्तुपरक र कार्यान्वयनयोग्य बनाइएको उहाँले स्पष्ट पार्नुभयो । तिलोत्तमाले बजेटमा आम्दानीका स्रोतको रुपमा आन्तरिक राजस्व ४४ करोड १ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ५० करोड ७५ लाख, लागत सहभागिताबाट ४ करोड प्राप्त हुने लक्ष्य निर्धारण गरेको छ ।
बजेटमा चालु आबका प्रायः सबै कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रमहरु पनि समावेश गरिएको छ । बजेटमा कोभिड–१९ रोग नियन्त्रण तथा रोकथामको लागि ३ करोडसहित स्वास्थ्य क्षेत्रमा कुल १९ करोड ४९ लाख विनियोजन गरिएको छ ।
यस्तै शिक्षामा ३५ करोड २४ लाख, पूर्वाधार विकासमा ६४ करोड ८० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ३ करोड ४० लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा ३ करोड ८ लाख, विभिन्न खेलकुद प्रतियोगिता तथा खेलमैदान पूर्वाधार विकासमा १ करोड १५ लाख विनियोजन गरिएको छ ।
कोभिड—१९ ले आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट पार पाउन स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेकोले बजेटमा भौतिक पूर्वाधारतर्फ नयाँ कार्यक्रम समावेश गर्न नसकिएको उहाँले बताउनुभयो ।