मार्तडी – लगातारको अविरल वर्षाका कारण जिल्लाको उत्तरपूर्वी भेगका ६२ परिवार पहिरोको कारण विस्थापित भएका छन्।
गाउँ माथिबाट र तलबाट पहिरो बगेर जमिन भासिँदै गएपछि परिवार विस्थापित भएका हुन्। उत्तरी भेगको हिमाली गाउँपालिकामा शुक्रबार गाउँको तलबाट जमिन भासिएर पहिरो बग्न थालेपछि ४० परिवार विस्थापित भएका छन्।
हिमाली–४ फैतीको दलित बस्तीका २५ परिवार र वडा नं ६ को बोल्डिकका १५ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए। गाउँभन्दा तलबाट पहिरो बग्न थालेपछि फैतीका चार घर पूर्णरूपमा क्षति भएको र २१ घरमा आंशिक क्षति पुगेको अध्यक्ष मल्लले जानकारी दिए।
फैती र बोल्डिकमा गाउँभन्दा तलबाट जमिन भासिएपछि उक्त गाउँमा स्थानीयवासी विस्थापित भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले बताए।
जमिन भासिएर घरमा क्षति पु¥याएपछि स्थानीयको उद्धार गरी सुरक्षित ठाउँमा लगिएको उनको भनाइ छ।
यस्तै सोही गाउँपालिका–६ बोल्डिकमा पनि कर्णाली करिडोरको सडकमा पहिरो गएर गाउँको जमिनसमेत भासिएपछि स्थानीयलाई उद्धार गरी आफन्त र सुरक्षित ठाउँमा सारेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए। जोखिममा रहेका ४० परिवारलाई विद्यालय र आफन्तकोमा सारेर गाउँपालिकाले खाद्यान्नलगायत राहत सामग्रीसमेत उपलब्ध गराएको अधिकृत भण्डारीले बताए।
बोल्डिकका विस्थाापित परिवारलाई त्रिपाल, भाँडाकुँडा, खाद्यान्नलगायत राहत सामग्री वितरण गरिएको छ।
फैतीका विस्थापित २५ परिवारलाई पनि राहत वितरणका लागि त्रिपाल, खाद्यान्न, भाँडाकुँडालगायत सामग्री लिएर गाउँपालिकाको टोली फैती गएको गाउँपालिकाले जनाएको छ।