काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यसलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने भएको हो ।
केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रुपमा निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११औँ तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाइने अध्यादेशमा जनाइएको छ ।
केन्द्रीय अस्पतालले प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित संघ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्न सक्ने व्यवस्था गरिएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति
अध्यादेशमा कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा १० सदस्यीय निर्देशक समितिसमेत गठन गरिने उल्लेख छ ।
समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ ।
निर्देशक समितिले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा सुरक्षा र आपूर्ति व्यवस्था तथा बाह्य सहयोगका लागि सम्बन्धित निकायलाई परिचालन गर्न सक्ने जनाइएको छ ।