बलेवा : ‘‘मध्यरातमा घरभित्र पस्ने धुलोसहितको धुँवाले दमको समस्या भएका जेष्ठ नागरिकलाई श्वास फेर्नै कठिन बनाउँछ । जलेर पड्किने बोतलहरु र प्लाष्टिकको आवाजले बम पड्केको महसुस हुन्छ । स–साना केटाकेटी कयौंपटक झस्किएका छन् ।’’
बिहान–बेलुका रात–साँझ हावा चल्दा मात्रै होइन, आकास स्थिर रहेको बेलासमेत घरभित्र पस्ने धुँवाले बागलुङ नगरपालिका–२ मरेपीपलका सर्वसाधारण आजित भएका छन् । बस्तीको माझमा रहेको धौलागिरी अस्पतालको फोहोर व्यवस्थापन उचित ढङ्गबाट हुन नसक्दा यो समस्या आएको हो ।
अस्पतालको पूर्वपट्टिको एउटा भवनमा सङ्क्रमणजन्य फोहोरको बिसर्जन हुने गरेको छ । आगो लगाएर हुने बिसर्जनबाट निस्किएको धुँवाले अस्पताल वरपरका वासिन्दा घरमा बस्नै कठिन हुने गरेको स्थानीयवासी रामचन्द्र गौतमले बताउनुभयो । ‘‘धुँवाको मुस्लो नै भान्छामा पुग्छ, झ्याल ढोका बन्द गरेर कति दिन बस्नु’’ गौतम भन्नुहुन्छ, ‘‘अस्पतालले अव्यवस्थित हिसाबले फोहोर जलाउँदा आसपासका घरहरुमा बसी नसक्नु भयो ।’’
स्थानीय वासिन्दाले धुँवाको व्यवस्थापनका लागि अस्पताल व्यवस्थापनलाई पटकपटक अनुरोध गरेका छन् । आफूहरुको समस्यामा अस्पताल प्रशासन गम्भीर नभएको स्थानीयवासीको आरोप छ । संयुक्त र एकल रुपमा पटकपटक फोहोर जलाउने कामको व्यवस्थापन गरेर धुँवाको मुस्लोबाट पीडित नगराउन आग्रह गर्दा समेत नमानेको भन्दै गौतमले बुधबार फोहोर व्यवस्थापन सम्बन्धी निर्देशिका वा मापदण्ड बनाउन माग गर्नुभएको छ ।
‘‘अहिले अस्पताललाई अप्ठ्यारो पर्ने गरी समूहमा आएर दबाब दिने समय होइन’’, गौतमले भन्नुभयो, ‘‘मापदण्ड पनि हेरौं के रहेछ, कोभिड मथ्थर भएपछि गम्भीर हिसाबले कुरा गर्नुपर्छ ।’’ उहाँले अस्पताल व्यवस्थापन र प्रशासनलाई स्थानीय सबैको प्रतिनिधित्व गर्दै तत्काल फोहोर जलाउने काम रोक्न ध्यानाकर्षण समेत गराउनुभएको छ ।
अस्पतालले कोभिड–१९ सङ्क्रमितको उपचार तथा अन्य सङ्क्रामक रोगको उपचारमा प्रयोग भएका स्वास्थ्य सामग्रीहरुको उक्त स्थानमा जलाएर विसर्जन गर्ने गरेको छ । ‘‘अन्य फोहोर हामीले फोहोर व्यवस्थापन युनिट बनाएर व्यवस्थापन गरेका छौं’’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बिक पोखरेलले भन्नुभयोे, ‘‘कोभिडका बिरामीको उपचारपश्चात निस्किने फोहोर मात्रै त्यहाँ जलाउने गरिएको छ ।’’
बस्तीको नजिक अस्पताल रहेकाले सङ्क्रामक फोहोर व्यवस्थापनको अन्य उपाय नरहेको उहाँको भनाइ छ । ‘‘हामीले चिम्नी राखेर जलाउने योजना पनि बनायौं तर सरकारले रोक्यो’’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले भन्नुभयो, ‘‘यो समस्या हामी छिट्टै विकल्पको खोजी गरेर समाधान गर्छौं ।’’ प्लाष्टिक तथा अन्य फोहोरहरुलाई उच्च प्रविधिबाट विसर्जन गर्ने विधि र उपकरणको समेत खोजी भैरहेको रानाले बताउनुभयो ।