परीक्षण कालमा नै लोकप्रियता बटुलेको ‘नागरिक एप’ को आज औपचारिक उद्घाटन गरिएको छ । सम्पूर्ण नेपालीलाई डिजिटल सञ्जालमा गाँस्ने र त्यसैबाट सार्वजनिक सेवा सहज रुपमा नागरिकलाई उपलब्ध गराउने उद्देश्यले सो एप सार्वजनिक गरिएको छ ।
‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो एपको भर्चुअल शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब लाइनबाट नभई अनलाइनबाट सरकारी सेवा प्राप्त गर्नका निम्ति सरकारले ‘नागरिक एप’ शुरुआत गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“नागरिक एपको शुभारम्भ सुशासन कायम गर्दै नेपाललाई भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका निम्ति पारदर्शिता कायम गर्न, झन्भझटिलो र परम्परागत सरकारी प्रणाली र प्रक्रियालाई अन्त्य गर्दै पेपरलेस, फेसलेस गर्दै सेवा प्रदान गर्ने उद्देश्यले गरिएको हो ।”
सरकारका प्रवक्ता गुरुङले अब जनताले अनलाइनबाटै बैँक खाता खोज्न सक्ने जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजनाको रुपमै रहेको प्रत्येक स्थानीय तहमा द्रुत गतिको इन्टरनेट सेवालाई प्रत्येक स्थानीय तहका कार्यालय, विद्यालय, शिक्षण संस्था र सबै सार्वजनिक ठाउँमा पु¥याउने कार्य आजदेखि शुरु भएको उहाँको भनाइ थियो ।सरकारले सबै जनताको पहुँचमा पु¥याउने गरी आजदेखि फाइभजी शुरुआत छ । पत्रकारको प्रेस कार्ड अनलाइनमार्फत नवीकरण गर्न पाइने सुविधा मिलाइएको छ । त्यसैगरी सरकारले आजदेखि सबै सरकारी कार्यालयका बेवसाइट एकै ठाउँबाट हेर्न मिल्ने गरी व्यवस्था मिलाएको छ ।
उहाँले भन्नुभयो, “दूरसञ्चार सेवालाई सरल, सुलभ, भरपर्दो र विश्वसनीय बनाउँदै दुर्गम क्षेत्रका निम्ति दूरसञ्चार क्षेत्रको विशेष कार्यविधि बनाउँदैछौँ । हामी सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय संकल्पलाई पूरा गर्न सूचना प्रविधिका क्षेत्रमा जोडिनु आवश्यक छ, त्यसमा जोडिएर समृद्ध नेपालको आधार निर्माण गर्नु जरुरी छ ।” सूचना तथा सञ्चार प्रविधि दिवसको महत्वलाई बुझेर नै मन्त्रालयले ‘समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने नारा अघि सारेको उहाँको भनाइ थियो ।
“सूचना प्रविधिको विकासका निम्ति डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा शुरु भएको छ, यो नेपालको गेम चेन्जर प्रोजेक्टका रुपमा रहेको छ, यसलाई कार्यान्वयन गर्ने प्रक्रियामै अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो । कार्यान्वयनका निम्ति आवश्यक नीतिगत विषय, निर्देशिका, कार्यविधि र संरचनागत विषय केही परिर्वतन गर्दै प्रधानमन्त्रीको नेतृत्वमा निर्देशन समिति निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“हामीले विकास भनेको सडक, पुल, भवन आदि निर्माण मात्रै बुझेका छौँ तर समृद्ध नेपाल र सुखी नेपालीको अवधारणामा डिजिटल नेपालको फ्रेमवर्कलाई प्रभावकारी कार्यान्वयनका निम्ति परम्परागत विकास नभई सञ्चार, सूचना प्रविधि क्षेत्रको विकास आजको आवश्यकता हो । हामीले विकासको अवधारणामा पनि परिवर्तन गर्नुपर्ने छ ।”
सञ्चार तथा सूचना प्रविधिको विकास नभएसम्म समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा कार्यान्वयन गर्न नसकिने उहाँले बताउनुभयो । सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सञ्चार तथा सूचना प्रविधिको प्रयोगले विश्वकै आर्थिक, शैक्षिक र स्वास्थ्यलगायत क्षेत्रमा परिवर्तन भएको जनाउँदै त्यसको हरेक क्षेत्रमा महत्वपूर्ण रहेको बताउनुभयो । विश्वमा सञ्चार तथा सूचना प्रविधिमा आएको विकासलाई आत्मसात् गर्दै नेपालले पनि सार्वजनिक सेवा प्रवाहलाई प्रविधियुक्त बनाउँदै लैजानुपरेको उहाँले स्पष्ट गर्नुभयो ।रासस