मुग्लानी खबर १२ मङ्सिर
भ्रष्टाचारको आशंकामा छानबीनमा परेका एक चिनियाँ जर्नेल आफ्नै घरमा मृत भेटिएका छन्। जनरल चाङ याङले २३ नोभेम्बरमा आत्महत्या गरेको सिन्ह्वाले जनाएको छ।
जनमुक्ति सेनाको राजनीतिक विभागका निर्देशक रहेका चाङ दुई महिनाअघिदेखि सार्वजनिक रुपमा देखिएका थिएनन्। अर्का जर्नेल फाङ फेङहुइ पनि सार्वजनिक रुपमा देखिएका छैनन्।
सिन्ह्वाका अनुसार चाङमाथि ‘अनुशासन तथा कानुनको गम्भीर उल्लंघन गरेको, घुस लिएको र स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको’ आरोप थियो।
उनको मृत्युको समयमा उनीमाथि भ्रष्टाचारमा दोषी पाइएका सैन्य अधिकारीहरु गुओ बोसियोङ र सु कोइहोउसँगको सम्बन्धमाथि छानबीन भइरहेको थियो।
राष्ट्रपति सी जिनपिङले पछिल्लो केही वर्ष भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिएका छन्। यसक्रममा उनले पार्टीका वरिष्ठ अधिकारीहरु तथा दर्जनौँ सैन्य अधिकारीहरुलाई हटाएका छन्।