काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला धेरैले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिताको एक तस्वीर राख्दै स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
छोरीहरु गंगा र रेणु दाहालसँगको एक सेल्फीमा प्रचण्ड पत्नी सिता निकै कमजोर देखिएकी छिन् ।
शनिवार भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी प्रचण्ड पुत्री रेणुले बहिनी गंगासहित आमा सिताको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।
उनले शेयर गरेको उक्त तस्वीरमा आइतबार मध्यान्हसम्म १४ हजार बढीले कमेन्ट मार्फत स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
तस्वीरमा सिता निकै कमजोर र भावुक देखिएको भन्दै चिन्ता व्यक्त गर्ने माओवादी केन्द्रका कार्यकर्ता र सर्वसाधारणको संख्या पनि उत्तिकै छ ।
के सिताको अवस्था पहिला भन्दा कमजोर भएको हो ?
बिरामी रहेकी सिता यतिबेला चितवनमा रहेकी छिन् । चितवनमा रेणु र आमासँगको सेल्फी गंगाले लिएकी थिइन् ।
कुनै सन्दर्भ विशेष भन्दा पनि दिदी र आमासँग सँगै भएको बेला फोटो खिचिएको गंगाले बताएकी छिन् ।
मानिसहरुले सिताको स्वास्थयबारे चासो लिइरहँदा गंगाले भने आमाको स्वास्थ्य सामान्य नै रहेको बताइन् ।
‘आमाको स्वास्थ्य सामान्य नै छ, केही तौल भने घटेको छ । फेसबुकमा फोटो राखेपछि मानिसहरुले के भएको हो भन्दै चासो राखिराख्नु भएको छ’ उनले भनिन् ।
सिताको नियमित उपचार भइरहेको छ । उनले थेरापी र नियमित औषधि सेवन गरिरहेकी छिन् ।
के भएको हो सितालाई ?
दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी ९प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी०बाट पीडित छन् । प्रचण्ड पत्नी सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्या भोगिरहेकी छिन् । यसअघि उनको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिएको थियो ।
प्राकृतिक चिकित्साविधीबाट उपचारका लागि भन्दै सीतालाई बाबा रामदेवको आश्रममा पनि लगिएको थियो । त्यसअघि प्रचण्ड पत्नीसहित म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि भन्दै पुगेका थिए । केही महिना अघि मात्र पनि सितालाई उपचारका लागि भारत लगिएको थियो । दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपर न्युक्लियर पाल्सीबाट पीडित रहेकी छिन् ।
चिकित्सकहरूका अनुसार यो समस्या मस्तिष्कमा असर परेपछि हुने गर्छ । जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ । यो समस्या ६० वर्ष उमेर माथिकालाई हुने चिकित्सकहरुको भनाई छ ।
एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मंसिरमा हृदयघातबाट निधन भएपछि उनमा स्वास्थ्य समस्या बढ्दै गएको थियो । दैनिक अनलाईन बाट