शुरबहादुर सिंह : ‘चैताबारुवाँसम्म घर आएन भने जुम्ली म¥यो भुनि जान्नु ।’ दुई दशकअघिसम्म चैतको १२ गतेसम्म घर नपुग्दा जुम्लीको मृत्यु सुनिश्चित गरिन्थ्यो । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो । यससँग यहाँको सामाजिक र सांस्कृतिक जीवन जोडिएको छ ।
असोज कात्तिकमा धान, कोदो, फापरलगायत बाली भण्डारण गरेर कालापहाड जाने कर्णालीवासीको जीवनशैलीसँग सम्बन्धित कथा बोकेको ऐतिहासिक महत्वको दिन हो, चैत १२ गते अर्थात् बारुवाँ । यसलाई जुम्लाले विशेष महत्वका साथ ‘मुठो रोपेर मुरी उत्पादन गर्ने’ दिनका रुपमा मनाउने गरेको छ र यस वर्ष पनि मनायो ।
कर्णाली प्रदेश सरकारले राजपत्रमै प्रकाशन गरेर गत वर्षबाट चैत १२ लाई जुम्लाको धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिएको छ । त्यहीअनुसार धान दिवसका रुपमा जुम्लाले बारुवाँ पर्वलाई सार्वजनिक बिदाका रुपमा मनाएर उक्त दिनमै कालीमार्सी धान उमार्ने बीउ छर्ने तयारी गरेको थियो ।
कर्णालीको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार जुम्लाले चैत महिनालाई ‘बारुवाँ, सोरुवाँ र विश्वाँ’का रुपमा मनाउँछ । सामाजिक तथा सांस्कृतिक दृष्टिले सम्पन्न मानिने यो पर्व जुम्ला र इतरका जिल्लाहरुमा अहिले पनि विद्यामान छ र नागरिकहरुले यसलाई निरन्तरता दिइरहेका छन् ।
आचार्यले खासगरी चैत १२ गते (बारुवाँ) मा जुम्ली किसानले वर्षभरि लगाउने सबै खेतबारीमा रोप्न मिल्ने आङ्कलन गरी त्यही परिमाणमा कालीमार्सी धान केलाएर पुष्ट धानलाई भाँगो वा अल्लाबाट बनेको बोरामा हालेर नजिकैको नदी वा खोलामा भिजाउने परम्परा निरन्तरता दिए ।
बारुवाँमा भिजाइएको धानलाई चार दिनपछि सोरुवाँ (चैत १६) गतेका दिन पानीबाट उतारेर किसानले घरमा ल्याउँछन् । भिजाइएको धानलाई घरको चुल्होसँग जोडिएको मैडो (समथर ठाउँ) मा राख्छन् । सल्लाको झुप्रा वा भोजपत्रले त्यसलाई ढाकेर न्यानो बनाउँछन् । आजै भिजाइएको धानको चिउरा कुट्छन् र छोरी बहिनीहरुलाई कोशेलीका रुपमा पठाउने गर्दछन् ।
मूलतः बारुवाँपर्व, चन्दननाथबाबा र लक्षालकृति पैकलोबीच अन्तरसम्बन्ध रहेको जानकार आचार्यले बताउनुभयो । “प्रदेश सरकारले बारुवाँलाई केन्द्रित गरी जुम्लामा सार्वजनिक बिदा दिएर बारुवाँ संस्कृतिको ऐतिहासिक विरासत जोगाएको छ”, उहाँले भन्नुभयो, “यसले मार्सी धान, यसको खोज र उत्पादनको इतिहासलाई स्मरण गराउँछ ।”
उहाँका अनुसार साके संवत् १५१५ मा विद्वान हरिदास आचार्यले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि कालीमार्सी धान जुम्लामा उत्पादन भएको उल्लेख छ । पन्ध्रौँ शताब्दीतिर चन्दननाथ बाबाले आफ्नो लामो खोज, अध्ययन तथा अनुसन्धानपछि कालीमार्सी धान पत्ता लगाएको पाइन्छ ।
किंवदन्तीअनुसार तातोपानी गाउँपालिकामा जन्मेको लक्षालकृति पैकलो (शुरवीर)ले तातोपानीकै लाक्षु जिउलोको बीचमा अवस्थित गुरु फोक्टोबाट कालीमार्सी धानखेती शुरुआत गरेकोबाट जुम्लामा कालीमार्सी धानको खेती थालिएको इतिहासमा उल्लेख भएको उहाँको भनाइ छ ।