मुग्लानी खबर मङ्सिर २
बाबुराम भट्टराईले आफ्नो पक्षमा भोट माग्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि केन्द्रीय सदस्य गगन थापासम्मलाई गोरखामा उतार्ने भएका छन्।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेको पालुङटारमा नै आज बिहान ११ बजे नेपाली कांग्रेस र नयाँ शक्तिले संयुक्त रुपमा चुनावी आमसभा गर्ने भएको हो। भट्टराई लोकतान्त्रिक गठबन्धनबाट गोरखा-२ का प्रतिनिधिसभा उम्मेदवार हुन्।
यस्तै मंसिर ४ गते क्षेत्र नं. १ को आरुघाट बजार र क्षेत्र नं. २ को भच्चेक बजारमा हुने सभामा कांग्रेस केन्द्रीय सदस्य थापा र बालकृष्ण खाँणले सम्बोधन गर्दैछन्। यसका अलावा गोरखा–१ मा चीनकाजी श्रेष्ठलाई भोट माग्न नयाँ शक्ति पार्टीका संयोजक भट्टराई पनि मंसिर ४ मा आरुघाट जाँदैछन्।
गोरखाका ६ वटा सिटमध्ये नयाँ शक्तिलाई २ वटा दिएर कांग्रेसले ४ सिट बाँडफाँट गरेको छ। गोरखा–१ मा चीनकाजी श्रेष्ठ र दुवै प्रदेशमा कांग्रेसका धिरन थापा, राजेन्द्र बजगाइँ उम्मेदवार छन्। साथै गोरखा–२ प्रतिनिसभामा भट्टराई र प्रदेशसभा (क) मा नयाँ शक्तिका हरिशरण आचार्य उम्मेदवार छन्। प्रदेशसभा (ख) मा कांग्रेसका प्रकाशचन्द्र दवाडी छन्। कांग्रेसलाई नयाँ शक्तिले र नयाँ शक्तिका उमेद्वारलाई कांग्रेसले सघाउने सहमतिसाथ लोकतान्त्रिक गठबन्धन बनेको हो।
यसअघि गोरखा २ मा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ, कमला नहर्की, अमर तमु र १ का उम्मेदवार हरिराज अधिकारी, लेखबहादुर थापा, रामशरण बस्नेत लगायतलाई भोट माग्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आएका थिए। भच्चेक, पालुङटार, घैरुङ र आरुघाटमा आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गरेर उनीहरु फर्किइसकेका छन्।