रामलाल जोशी मदन पुरस्कार-२०७२ को बिजेता बनेका छन् । मंगलबार बसेको मदन पुरस्कार गुठीको बैठकले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । केहि दिनपहिला जोशीसँग भेटेर नयाँ पत्रिकाका शिखर घिमिरेले उनीबारे फिचर तयार पारेका थिए । उक्त फिचार नयाँ पत्रिकामा प्रकाशित भएको थियो । जोशी मदन पुरस्कार विजेता बनेसँगै पुनः यो सामाग्री प्रकाशन गरेका छौँः
रामलाल जोशी काठमाडौं आएको यो पहिलोपटक होइन । २०५१-५२ सालतिर त उनी प्रत्येक दुई महिनामा काठमाडौं आउँथे, पत्रिका छपाउन । त्यसको केही वर्षपछि उनले काठमाडौंमै डेरा लिए, त्रिभुवन विश्वविद्यालयमा पढ्न । र, केहीअघि उनी फेरि काठमाडौं आए, ‘ऐना’ छपाउन । छपाए र फर्किए धनगढी । धनगढीमा उनको परिचय रामलालको मात्र छैन । चोकचोकमा फरक परिचय बोकेर उनी हिँडिरहेका हुन्छन् । कसैले ‘सर नमस्कार’ भन्छन्, कसैले ‘कविज्यू के छ हालखबर ?’ भन्छन् । काठमाडौंले रामलाललाई यस्तो विशेष परिचय यसअघि दिएन । तर, पछिल्लोपटक काठमाडौं आउँदा रामलाल सेलेब्रिटी भएर देखा परे, सेलेब्रिटी कथाकार । काठमाडौंले कतिसम्म ग¥यो भने उनी ‘एलियन’ हुन्, कताबाट टपक्क टिपिएर ल्याएका । ‘ठ्याक्कै यही हो,’ उनी भन्छन्, ‘काठमाडौंमा नयाँ व्यवहार त भयो, तर यसको अर्थ के होइन भने पहिलेको जस्तो कुनै व्यवहार नै भएन । तर, मैले यसलाई नराम्रो रूपमा चाहिँ लिएको छैन ।’ कथासंग्रह ऐनामा रामलालले १९ कथा राखेका छन् । संग्रहका यी रचना कथा मात्र होइनन्, दुःखका पोका हुन् । उनले एउटा दुःखको पोको फालिदिएर १९ वटा समेटेका हुन् । ‘आखिर दुःख त उही हो,’ उनले भने, ‘एउटा दुःखलाई नराख्दा पनि मेरो मनमा थप दुःख होला भन्ने लागेन, एउटा कथा हटाइदिएँ ।’ ऐना कथासंग्रहमा कसरी १९ कथा समेटिए भन्ने प्रश्नको जवाफमा उनले यस्तो जवाफ दिए : तर, यो कथा संग्रह छापिनुपछाडिको दुःख ती १९ दुःखले समेट्न सक्दैनन् । यस्तो किन पनि भने पहिलोपटक कथा संग्रह छाप्न काठमाडौं आइपुग्दा रामलाललाई कसैले सहयोग गरेनन् । जो–जसले सहयोग गरे, उनीहरूले आफ्नो हिस्सा खोजे । कथासंग्रह छापिदिएबापत् उनीसँग प्रेसको खर्च मात्र मागेनन्, ‘थोरबहुत’ ‘पकेट खर्च’ पनि मागे । तर, यी कुरामा रामलालको कुनै गुनासो छैन । ‘अब गुनासो गरेर पनि के गर्नु ?’ उनले प्रतिप्रश्न गरे, ‘मलाई त दुःखको भन्दा पनि आफ्नो सिर्जनाको माया बढी छ । हुनुपर्ने नै यही होइन र ?’ यी सब कथा अब फेरिएका छन् । एक साँझ काठमाडौंको एउटा कफी सपमा भेट्दा रामलालले ती तिता क्षण थप स्मरण गर्न चाहेनन् । यतिवेलासम्म रामलालले एक सिप कफी पिइसकेका थिए । ‘तिता क्षण त कतिसम्म भने अमेरिकानो डबल सट कफीभन्दा पनि बढी,’ उनले अगाडिको कफी कप उठाए, र भने, ‘काठमाडौं यस्तै रहेछ सर, यसले समयअनुसार फरक व्यवहार गर्दोरहेछ ।’ डोटीमा जन्मिएका र धनगढीलाई आफ्नो कर्मथलो बनाएका रामलालको परिचय पनि अब फेरिएको छ । देशका दुई ठूला र प्रतिष्ठित पुरस्कार मदन पुरस्कार र पद्मश्री पुरस्कारका लागि उनको कथा संग्रह ‘ऐना’ मनोनीत भएको छ । कथा संग्रह केही बजारमा आए र केही समयपछि पुरस्कारका लागि मनोनयनमा परेर चर्चामा आए पनि रामलालले कथा लेख्न थालेको आजबाट होइन । तर, बीचमा उनको कथाकारको छवि पुरै ओझेलमा परेको थियो । यस्तो किन पनि भयो भने उनी गजलमा कलम चलाउन थाले । ‘काठमाडौंमा मास्टर्स पढ्न आएको एउटा केटोले शृंगारमा नै रमाउन खोज्यो,’ उनले भने, ‘गजलले त्यो छुट दियो, म गजलमा लाग्न थालेँ, कहिलेकाहीँ फाट्टफुट्ट कविता पनि लेखेँ ।’ नेपाली साहित्यमा मास्टर्स सकेपछि रामलाल फेरि धनगढी फर्किए । धनगढीमै पुग्दासम्म उनको मनमा अरू केहीले गजललाई रिप्लेस गर्न सकेको थिएन । त्यसैले पनि होला, उनले एउटा गजल संग्रह पनि निकाले । ‘तर, मेरो बुझाइ झन् फरक भएको रहेछ,’ उनले भने, ‘मैले त डोटीका दुःखका कथा गजलमा लेख्न नसक्दो पो रहेछु, अनि पहिलेदेखि नै लेखिरहेको कथामा थप काम गर्न थालेँ । नयाँ कथा लेख्न थालेँ ।’ ऐनामा राखिएका कथा पनि रामलालले दुई वर्षयता लेखेका कथा हुन् । तर, यी कथाका ‘सामग्री’ उनले वर्षौंदेखि मनमा राख्दै आएका थिए । ‘यी त मैले भोगेका कथा हुन्, मैले देखेका कथा हुन्,’ उनले भने, ‘मनको कुनै कुनामा बसिरहेका रहेछन्, यसरी कथाका रूपमा बाहिर आए । यी खासमा कथा होइनन्, मेरो समाजका वास्तविक घटना हुन् ।’ हुन पनि रामलालले ऐनामा राखेका कथा ‘खेल’, ‘मध्यान्तर’, ‘भर्जिन कथा’ साहित्यको यो समाजका लागि ‘भर्जिन’ नै लाग्छन् जुन उनले देखेका थिए, भोगेका थिए, तर लेखिएका थिएनन् । तर, यसको अर्थ के होइन भने समाजका सबै पाटो उनले लेखेका छन् ।
‘हो, मेरा कथामा बढी अँध्याराको कुरा छन्,’ उनले भने, ‘यस्तो किन पनि भने त्यो समाजमा अहिलेसम्म कुनै पनि उत्साहका कुरा भइसकेका छैनन् । अहिले पनि मेरो समाजका कुरा त्यही नै हुन् ।’ रामलाल लेखनमा आफ्नो जीवन आएको प्रस्ट स्विकार्छन् । ‘आफूले अनुभूत नगरेको भए त कसरी लेख्न सक्थेँ होला र ?’ उनले सोधे, ‘कोड (कुष्टरोग) लाग्दा सुदूरपश्चिममा मान्छेलाई बगाइन्थ्यो, जंगलको बीचमा लगेर छाडिन्थ्यो । अब ती कुरा के लेखिनुपर्दैन ?’ यसको जवाफ रामलाल आफैंसँग छ । ‘लेखिनुपर्छ,’ उनले मुखैमा पु¥याएको कफी कप बीचैमा रोके, र भने, ‘हो, मैले लेखेका कथामा म आफैँ पनि छु । तर, यसलाई आफूमा मात्र सीमित पनि म गर्दिनँ, किनकि जस–जसले पढ्नुभएको छ, उहाँहरूले भन्नुभएको छ– रामलाल तैँले त मेरै कथा पो लेखेको रहेछस् ।’ ‘भर्जिन’ विषयमाथि रामलालले लेखेका कथाका शिल्प पक्ष पनि बलियो छ । तर, कथा पढ्दा के लाग्छ भने रामलालले यी कुरामा खासै वास्ता गरेका थिएनन् । ‘हो, सर,’ उनी भन्छन्, ‘मैले यसरी लेखिरहेँ, मानौँ म जीवन लेखिरहेको छु । दुई÷चार कथा लेख्दा त मैले आफूलाई पनि कन्ट्रोल गर्न सकिनँ, भक्कानिएर रोएँ ।’ उनी भक्कानिएको एउटा कथा हो ‘मध्यान्तर’ । यो उनको मावलीको कथा हो । उनका हजुरबालाई कुष्टरोग लाग्यो । हजुरआमा १८ वर्षकी मात्र हुनुहुन्थ्यो । तर, कुष्टरोग लागेका हजुरबालाई जंगलको बीचैमा लगेर छाडियो । हजुरआमाले यो कथा रामलालाई मात्र सुनाउनुभएन, अरूलाई पनि सुनाउनुभयो । मानौँ, प्रत्येकपटक यो कथा सुनाउँदा उहाँको मुटुमा एउटा नयाँ चिरा पर्छ र आफूलाई त्यही चिराले सान्त्वना दिन्छ । तर, यो कथा पढ्दा जति मन दुख्छ, त्योभन्दा बढी भावुक कथा रामलालसँग छ । ‘मैले जुन बहिनीलाई अन्माएँ,’ उनी भन्छन्, ‘त्यही बहिनीलाई दाहसंस्कार गर्नुपर्दा मेरो मन कति फाट्यो होला ?’ रामलालले बहिनीको कुरा गरे, जसलाई बुवाले गर्भमै छाडेर गएका थिए । उनी हुर्किइन्, रामलालले दाइको भूमिका निर्वाह गरे । बहिनीको सुखी परिवारको कल्पना त उनले गरेका थिए । तर, सबै जीवनको अन्त्य कहाँ सुखात्मक हुन्छ र ? दुःखका यस्ता पहाडलाई चिरेर अगाडि बढिरहेका रामलाल त्यस्ता पात्र होइनन्, जोसँग दुःखका कथा मात्र छन् । उनी त सफलताबाट यहाँसम्म पुगेका छन्, जहाँ उनले दुःखका कथा सुनाएरै भए पनि कथाबाट ‘क्यास’ गरिरहेका छन् । ‘ठ्याक्कै त्यस्तो पनि होइन,’ उनी हा“स्छन्, मानौँ यसलाई स्विकार्छन्, ‘धनगढीमा चाहिँ म साहित्यमा लागिरहेको छु । यही साहित्यबाट नै आफूलाई अगाडि बढाइरहेको छु । हामीले साहित्यकै भवन बनाएका छौँ, केही पुरस्कार स्थापना गरेका छौँ ।’ यही विश्वासले नै उनले पहिलोपटक ‘ऐना’ आफ्नै लगानीमा छापेका हुन् । ‘केही नभए पनि मेरो कथा मेरो कर्मथलोमा पढिन्छ भन्ने विश्वास ममा थियो,’ उनी भन्छन्, ‘आखिर नलेखी पनि त म बस्न सकिनँ ।’ यता, काठमाडौंमा नयाँ परिचय पाएका र नेपाली साहित्यका पछिल्ला पाठकका लागि चासोका विषय बनेका रामलाललाई अब धनगढीमै पनि फरक परिपक्वताका साथ हेरिएको छ । कतिलाई त रामलालले पनि भने होलान्, ‘देखिस् त, ममा क्षमता छ ?’ नभनुन् पनि किन, उनको कथा अहिले साहित्य बजारमा हट केक भएका छन् । हट केक नभएको भए अहिले काठमाडौंका ‘टप’ प्रकाशकहरूले उनलाई सम्पर्क गर्ने थिएनन्, पहिले सबैले ‘अस्वीकार’ गरेको उनको पुस्तकको तेस्रो संस्करण यति छिटो बजारमा आउने थिएन । आखिर रामलाल अब सेलेब्रिटी न भएका छन् । नयाँ पत्रिकाबाट