काठमाडौं । नयाँ सत्ता समीकरणका लागि अहिले दुई ध्रुवमा गठबन्धनको प्रयास भइरहेको छ ।
एकातिर नेकपा एमालेले आफ्नै नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिनेगरी सत्ता साझेदारको भूमिका निर्वाह गर्ने दलको खोजी गरिरहेको छ भने अर्कोतिर काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबीच गठबन्धनको प्रयास जारी छ ।
सरकारमा सहकार्य गर्ने–नगर्ने विषयमा सरकार र जनता समाजवादी पार्टी बीच आज पनि वार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा आज कार्यदलस्तरमा निर्णायक छलफल गर्ने भनिएको थियो ।
जसपाले नेताहरुले पनि आजको वार्ता निर्णायक हुनसक्ने बताएका छन् । सरकार–जसपाको आजको वार्ता राजनीतिक चासोको विषय बनेको छ ।
यी दुवै ध्रुवका लागि जसपा नेपालको भूमिका निर्णायक हुने देखिन्छ । जसपा नेपालले जता समर्थन जनाउँछ, उतै सरकार बन्ने सम्भावना रहेकाले पनि यतिबेला जसपा नेपाल तानातानको अवस्थामा छ ।
प्रतिनिधिसभाको अंक गणितमा नेकपा एमाले १२१ सिटसहित सबैभन्दा ठुलो दल छ । एमालेलाई सरकार टिकाउन वा नयाँ सरकार गठन गर्नका लागि नेपाली काँग्रेस, जसपा वा नेकपा माओवादी केन्द्रमध्ये कुनै एक दलको समर्थन आवश्यक हुन्छ ।
आफ्ना माग सम्बोधनका लागि जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई कार्यदलमा छन् ।
प्रतिनिधिसभामा जसपा नेपालका ३४ सांसदमध्ये ३२ सांसद संसदीय भूमिका निर्वाहका लागि योग्य छन् । त्यसैले जसपा नेपालले समर्थन जनाएको अवस्थामा एमालेले सरकारको नेतृत्व गर्न सक्छ ।