हुम्ला : नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने एकमात्रै जिल्ला हुम्लाको लिमी भए पनि यसको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । यस वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि यो समयमा अहिलेसम्म सात विदेशी पर्यटक र करीब ६०० भन्दा बढी आन्तरिक पर्यटक लिमी लाप्चा पुगेर कैलाश मानसरोवर दर्शन गरेको बताइएको छ ।
हुम्लाको सदरमुकाम सिमकोटबाट चार दिनको पैदलयात्रापछि लिमी भ्यालीको लाप्चा पुगिन्छ । सिमकोटबाट दुई दिन जति गाउँमा बास बस्दै जान सकिन्छ भने दुई दिन आफूसँग पाल र खाने कुरालगायतका सामान बोक्नुपर्छ ।
दुई दिनमा रमणीय दृश्यावलोकन गर्दै गोठालासँगै रात बिताउन पाइन्छ । सहजैरूपमा लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्न सकिने स्थानमा पुग्न सकिन्छ । डेढ वर्षदेखि हुम्ला हुँदै मानसरोवर कैलाश जाने गरेका पर्यटक कोभिड–१९ का कारण रोकिए पनि पुनः नियमित हुनसक्ने सम्भावना रहेको छ । कोरोना भाइरस महामारी विस्तारै कम हुँदै जान थालेपछि भारतीय पर्यटक तथा तीर्थयात्री हुम्ला पुगेका हुन् ।
हुम्ला पुगेर नाम्खा गाउँपालिका–६ मा पर्ने लिमीको लाप्चाबाटै उनीहरुले दर्शन गरेका छन् । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्ला पुगेका भारतीय तीर्थयात्री सिमकोट विमानस्थलबाट हेलिकप्टरमार्फत लिमीको लाप्चामा अवतरण गरेर दर्शन गरी फिर्ता भएको विजय होटेलका सञ्चालन विजय लामाले जानकारी दिनुभयो । कैलाश मानासरोवर दर्शनका साथै उत्तरी क्षेत्रमा रहेका लिमी लाप्चा भ्यालीको मनोरम दृश्यावलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्ने सम्भावना रहेको सञ्चालक लामाले बताउनुभयो ।
बिहीबार बिहान सात भारतीय तथा छ आन्तरिक पर्यटक गरी १३ जनाको टोलीद्वारा लिमी लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शनका साथै पर्यटकीय क्षेत्रको अनुगमन गरी फिर्ता भएको विमानस्थलका प्रमुख मोहन गिरीले बताउनुभयो । सो टोलीद्वारा सुरक्षा निकायको अनुमतिमा शिवरात्रिको अवसर पार्दै प्रवद्र्धनात्मक यात्राका लागि अनुगमन गरेको बताइएको छ ।
टोलीले माउण्टेन हेलिकप्टर र सीता एयरको समन्वय तथा साझेदारीमा हुम्लाको पर्यटकीय क्षेत्रको विश्लेषण गरेर फिर्ता भएको सीता एयर सिमकोट स्टेसनका सहायक प्रबन्धक सूर्य लामाले जानकारी दिनुभयो । अनुगमनका लागि आएको टोलीले पर्यटन तथा दर्शनका लागि फलदायी र उत्तम भएको महसुस गरेको खण्डमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन सक्ने विश्वास गरिएको छ ।
कामाडौँ, नेपालगञ्ज हुँदै हुम्ला पुगेको पर्यटकको टोलीले मानसरोवर कैशाल दर्शनका लागि लिमी, लाप्चालाई केन्द्रित बनाएको पाइएको छ । कैलाश मानसरोवरका लागि हुम्ला पुगेको यो पहिलो भारतीय तीर्थयात्रीको टोली रहेको बताइएको छ ।
यस्तै भारतीय तीर्थयात्रीहरुले हुम्ला पुगेर साना हेलिकप्टरको प्रयोग गरेर लिमी लाप्चा क्षेत्रमा पुग्ने गर्दछन् । हुम्ला उच्च हिमाली जिल्ला भएका कारण निकै उचाइमा रहेकाले सिधै हेलिकप्टरको प्रयोग गरेर दर्शन गरी फिर्ता हुने गर्दछन् । सदरमुकाम सिमकोट पुगिसकेपछि कतिपय हिंडेरै जाने गर्दछन् भने केहीले हेलिकप्टरको प्रयोग गर्दछन् ।
धार्मिक तीर्थस्थल कैलाश मानसरोवरको दर्शन गर्दा स्वर्ग गइन्छ भन्ने हुम्लीको धार्मिक विश्वास रहेको छ । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थल मानिन्छ ।