कम्बोडियाका प्रधानमन्त्री दम्पतीले कोरोनाभाइरसविरुद्धको खोप लगाउनु भएको छ ।
प्रधानमन्त्री सम्देच हुन सेन र उहाँकी श्रीमतीले भारतमा बनेको खोप बुधबार लगाउनु भएको अधिकारीहरूले जनाएका छन् ।
“प्रधानमन्त्री हुन सेनले भारतमा बनेको खोप लगाउनु भएको छ, उहाँसँगै उच्च सरकारी अधिकारीहरूले पनि खोप लगाउनु भएको छ,” कम्बोडियास्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।
दूतावासका अनुसार संसद्का अध्यक्ष, उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य मन्त्री, सार्वजनिक यातायात मन्त्रीलगायतले पनि भारतमा बनेको कोरोनाविरुद्धको खोप लगाउनु भएको छ ।
समुदायस्तरमा कोरोनाभाइरसको महामारी फैलिँदै गएकाले कम्बोडियामा अनिश्चितकालका लागि खेल गतिविधिहरू बन्द गरिएको छ ।
कम्बोडियामा अघिल्लो महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
“पछिल्लो समयमा समुदायस्तरमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्यामा अत्यधिक वृद्धि भइरहेको छ,” शिक्षा, युवा तथा खेलकुद मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुदका गतिविधिहरू नगर्न व्यक्तव्यमा निर्देशन दिइएको छ ।
जीम, खेल क्लबहरू, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षणलगायतका कुनै पनि गतिविधि गर्न नपाइने वक्तव्यमा उल्लेख गरिएको छ ।
दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनीलगायतका क्षेत्रसमेत बन्द गरिएको छ ।
त्यसैगरी भीडभाड हुने अन्य गतिविधिहरूका लागि पनि प्रतिबन्ध लगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
भारतले गत फेब्रुअरी ६ मा कम्बोडियालाई भारतमा बनाइएको एक लाख खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।
भारतको सो निर्णयबाट भारत र कम्बोडियाको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुगेको पनि अधिकारीहरूले बताएका छन् ।
कम्बोडियाका प्रधानमन्त्री हुन सेनको आग्रहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकार गर्दै कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु भएको थियो ।
भारतले गत जनवरी २० देखि भूटान, माल्दीभ्स, बहराइन, नेपाल, बङ्लादेश, म्यानमार, श्रीलङ्कालगायतका देशहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ ।
भारतमा पनि उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्चपदाधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । उहाँहरूले सोमबार पहिलो चरणको खोप लगाउँदै आम नागरिकलाई पनि खोप लगाउन आह्वानसमेत गर्नुभएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको ‘इन्डियन इन्स्ष्टिच्यूट अफ मेडिकल साइन्स (एआईआईएमएस) मा गएर खोप लगाउनु भएको हो ।
“मैले आज कोरोनाभाइरसविरुद्धको पहिलो खोप लगाएको छु, चिकित्सक तथा वैज्ञानिकहरूको सिफारिसका आधारमा मैले खोप लगाएको हुँ, विश्वव्यापी महामारीका विरुद्धमा लड्न यसले सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु” उहाँले भन्नुभएको छ ।
उहाँले आफूले खोप प्रतिको विश्वास भएकाले खोप लगाएको उल्लेख गर्दै आमनागरिकलाई पनि खोप लगाउनसमेत आह्वान गर्नुभयो ।
भारतमा गत जनवरी १६ देखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको भए पनि प्रधानमन्त्रीसहितका उच्चपदस्थ अधिकारीले भने सोमबार मात्रै लगाउनुभएको हो ।
सोमबार प्रधानमन्त्री मोदीसँगै उपराष्ट्रपति, मन्त्री, न्यायाधीशहरूलगायतका धेरै उच्चपदस्थ पदाधिकारीहरूले खोप लगाउनु भएको हो ।रासस÷एएनआई