प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले झापा विद्रोहका योद्धा शिवप्रसाद शिवाकोटीको स्मृतिमा प्रकाशित ‘शिवप्रसाद शिवाकोटी झापा विद्रोहका एक कमाण्डर’ नामक संस्मरणात्मक ग्रन्थको आज लोकार्पण गर्नुभएको छ ।
सुखानका शहीद स्मृति दिवसका अवसरमा अर्जुनधाराको शहीद स्मृति पार्कमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख प्यासीले सो ग्रन्थको लोकार्पण गर्नुभयो ।
पञ्चायती शासनको अन्त्य र गरीब किसानको हक स्थापित गर्ने लक्ष्यका साथ २०२८ सालमा झापाका युवा क्रान्तिकारीले शुरु गरेको झापा विद्रोहमा योद्धा शिवाकोटीको योगदान रहेको ग्रन्थका सम्पादक एवं कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले बताउनुभयो ।
शिवप्रसाद–कृष्णादेवी युवा फाउन्डेसनका अध्यक्ष युवराज शिवाकोटीले आफ्नो बुबाले समाजको रुपान्तरणमा दिनुभएको योगदानलाई पुस्तकमा लिपिबद्ध हुँदा गर्वको अनुभूति भएको बताउनुभयो ।
चार सय पृष्ठको पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओली र भापा आन्दोलन क्रममा सबैभन्दा बढी कारागार सजाय भोग्नुभएका मोहनचन्द्र अधिकारीको अन्तर्वार्ता अग्रस्थानमा प्रकाशित छ भने पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवप्रसाद नेपाल, झापा आन्दोलनका नेताहरु सीपी मैनाली, राधाकृष्ण मैनाली, खड्गप्रसाद दाहाल, मनकुमार गौतम, सीता खड्कालगायत ४४ जनाको संस्मरणात्मक लेख समावेश गरिएको छ ।
प्रधानमन्त्री ओलीले झापा आन्दोलन सिर्जना, रचना र सञ्चालन गर्ने थोरै नेतामध्ये शिवप्रसाद शिवाकोटी आन्दोलनको मियोको रुपमा रहनुभएको आफ्नो अन्तरवार्ताको क्रममा बताउनु भएको छ ।
यसैगरी, नेकपा मालेका महासचिव तथा झापा विद्रोहका अगुवा सीपी मैनालीले शिवाकोटीलाई झापा विद्रोहको अपरिहार्य जगढुंगो भएको आफ्नो लेखमा उल्लेख गर्नुभएको छ ।
मोहनचन्द्र अधिकारीले सरल भाषामा क्रान्तिको महत्त बुझाएर किसानलाई एकत्रित गर्न सक्ने शिवप्रसाद शिवाकोटी झापा विद्रोहका एक कमान्डर नै रहेको लेखमा उल्लेख गर्नुभएको छ । RSS