टेकराज पोखरेल : नवलपुर
सडकमार्गबाट देशका मेचीकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । देशकै गौरवकै आयोजनाका रुपमा रहेको सो खण्डको विस्तारले यही फागुनदेखि तीव्रता पाएको हो ।
सडक विस्तारअन्तर्गत खण्ड १ को गैँडाकोट–दाउन्ने सडकमा साना कल्भर्ट निर्माणको काम सकिएको छ । गैँडाकोटमा अधिकांश साना कल्भर्ट निर्माण भइसकेको तथा देवचुलीको रजहर र कावासोतीको खरकट्टा जङ्गल क्षेत्रमा पनि कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । बाइस साना कल्भर्ट निर्माण भएर १२ ठूला पुलको काम पनि तीव्र गतिमा अगाडि बढेको आयोजना प्रमुख रमेशकुमार दिष्टीले बताउनुुभयो ।
दिष्टीका अनुसार गैँडाकोट क्षेत्रमा पाँच स्थानमा अस्थायी मार्ग परिवर्तन गरेर ठूला पुल निर्माणको काम धमाधम अगाडि बढेको छ । सडकको दायाँबायाँ सतह मिलाउने, नाला निर्माण गर्ने र गैँडाकोट क्षेत्रमा पर्ने सडक भित्ता कटान तीव्र गतिमा भइरहेको उहाँको भनाइ छ ।
सडक किनारका रुख काटिँदै
सडक किनारका रुख कटान र विद्युत्का तार र खम्बा सार्न ढिलाइ हुँदा समयमै काम सक्न चाप परेको प्रमुख दिष्टीले बताउनुभयो । राजमार्गबाट उत्तरतर्फका रुख कटानको काम तीव्र रुपमा भइरहँदा दक्षिणतर्फको रुख कटान भने हुन सकेको छैन । दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र परेकाले निकुञ्जले अनुमति नदिँदा रुख कटान रोकिएको आयोजना प्रमुख दिष्टीले राससलाई जानकारी दिनुभयो ।
सडक विस्तार गर्दा झण्डै ११ हजार रूख काटिने आयोजनाले जनाएको छ । यो खण्डको ६ स्थानमा वन क्षेत्र छ । छपान (रुख काट्न नम्बर लगाउने) भइसकेको र मन्त्रालयबाट अनुमतिसमेत पाइसकेका अवस्थामा निकुञ्जले अनुमति नदिँदा काम रोकिएको उहाँले बताउनुभयो । सडक किनारका खम्बा निर्माण व्यवसायीमार्फत हटाइने भएकाले सो कार्य छिट्टै शुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नारायणगढ–बुटवल सडक खण्ड विस्तारअन्तरगत पूर्वी खण्डमा १२ ठूला (मेजर ब्रिज) र साना २२ (माइनर ब्रिज) पुल बन्ने आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । सोही क्षेत्रमा २२४ बकस कल्भर्ट बन्नेछन् । हाल ठूलो पूल भएका स्थानमा सडकबाट उत्तरतर्फ ११ दुई लेनका नयाँ पुल बन्नेछ । दुम्किबासको ज्यामिरेको एउटा पूल मात्रै दक्षिणतर्फ बन्ने आचार्यले जानकारी दिनुभयो । रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई छोएको सो आयोजनाअन्तर्गत साना २२ पुल सबै नयाँ बन्ने आचार्यको भनाइ छ ।