काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटनले संवैधानिक जटिलता निम्त्याएको बताएका छन् ।
आज झापाको गौरीगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने विचार व्यक्त गरे ।
अध्यक्ष थापाले सबै धर्मको सम्मान हुने गरी सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृति, परम्परा र मौलिकताको जगेर्ना हुने उनको धारणा थियो ।
१४ वर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै उनले विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहरी राजनीतिले काम गरेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपालाई कांग्रेस र कम्युनिस्टको विकल्पको रूपमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरे ।
कार्यक्रममा नेताहरू राम थापा, टेकनारायण राजबंशी, अम्बर विष्ट , बासुदेव भट्टराई , बाबुराजा श्रेष्ठलगायतले सम्बोधन गरेका थिए।