कृष्ण आचार्य भरतपुर :
चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ललितपुर महानगरपालिकाले रु २० लाख सहयोग गरेको छ । रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिकाबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रु २० लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख महर्जनले रङ्गशाला निर्माणका लागि सबैको थोरैथोरै सहयोगले बल पुग्ने बताउनुभयो । उहाँले सबैको हातेमालोबाट रङ्गशाला निर्माण हुनेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो । फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठ्यारो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताउनुभयो । रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुनेक्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिनुभयो । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लागि ऊर्जा थपिएको पनि उहाँले बताउनुभयो ।
प्रदेश सरकारले बनायो प्रहरी चौकी
चितवनको रत्ननगर नगरपालिका–१३ जयमङ्गलामा वाग्मती प्रदेश सरकारले प्रहरी चौकी निर्माण गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट गत आर्थिक वर्ष २०७६÷७७ मा विनियोजन गरिएको बजेटले सुविधायुक्त प्रहरी चौकी निर्माण गरिएको हो । निर्माण सम्पन्न भइसके पनि कोरोना भाइरस भाइरस सङ्क्रमणका कारण चौकीको भवन उद्घाटन गरिएको थिएन ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक विमला श्रेष्ठका अनुसार चौकी निर्माणमा कूल रु एक करोड ६२ लाख ५० हजार खर्च भएको छ । चौकीमा महिला र पुरुषको छुट्टाछुट्टै शौचालयसहित हिरासत कक्षसमेत रहेका छन् । सो नवनिर्मित भवनका एक कार्यक्रमका बीच वाग्मती प्रदेश प्रहरी कार्यालय हेटाँैडाका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले उद्घाटन गर्नुभयो ।
सो अवसरमा लामाले सुविधायुक्त भवन निर्माणपछि सहज र सरल किसिमले सेवा प्रवाह गर्न मद्दत पुग्ने बताउनुभयो । भवन नहुँदा काममा अप्ठ्यारो हुन्छ, अब भवन सुविधायुक्त भयो लामाले भन्नुभयो, “जनताले प्रहरी रहेको अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्छ ।” केही प्रहरी स्वार्थका लागि मात्र काम गर्ने कहीँकतै आफूले पाएको भिन्दै लामाले समाजमा राम्रो परिचय बनाउने गरी काम गर्न मातहतका प्रहरीलाई उहाँले निर्देशन दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा वाग्मती प्रदेशभर ४६ वटा प्रहरी एकाइ र चालू आर्थिक वर्षमा २१ वटा प्रहरी एकाइलाई सरकारले बजेट विनियोजन गरेको थियो । इलाका प्रहरी कार्यालय रत्ननगरको मातहतमा रहेको सो चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना प्रहरीको दरबन्दी रहेको छ ।
धान रोप्ने मेसिन हस्तान्तरण
चितवनको खैरहनी र रत्ननगरका किसानलाई कृषिमन्त्री पद्मा अर्यालले चार चक्के धान रोप्ने दुई वटा मेसिन हस्तान्तरण गर्नुभएको छ । रत्ननगर नगरपालिका–६ बछ्यौली र खैरहनीको कुमरोजमा रहेको साना किसान सहकारी संस्थालाई मन्त्री अर्यालले सो मेसिन हस्तान्तरण गर्नुभएको हो । मेसिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरणका लागि किसानलाई मन्त्रालय जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत अनुदानमा ४१ लाख ८० हजार रुपैयाँमा दुई वटा मेसिन किनिएको आयोजनाका अधिकृत माधव पौडेलले बताउनुभयो । किसानले कुमरोज र बछ्यौलीमा सामुदायिकरुपमा धानखेती गर्दै आएका थिए । चितवनमा विसं २०४५ देखि साना किसान कार्यक्रम शुरु भएको थियो । रत्ननगर नगरपालिकाका तीन हजार १९२ घरधुरी साना किसानमा आबद्ध रहेका छन् । यस सहकारीले धानखेतीमा यान्त्रीकरणको प्रयोग र चक्लाबन्दीलाई विशेष प्राथमिकता दिएको छ ।