गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेश तेक्वान्दो सङ्घ (आइटिएफ) द्वारा आज पोखरामा आयोजना गरिएको खेलाडीको ग्रेडिङ समापन कार्यक्रममा उहाँले प्रदेश सरकारले बहुउद्देश्शीय रङ्गशाला निर्माणको योजना बनाए पनि जमीन प्राप्तिमा ढिलाइ भएको बताउनुभयो ।
चालू आवको बजेट कार्यक्रममा बहुउद्देश्शीय रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएकाले जग्गा प्राप्त भए लगत्तै काम अघि बढ्ने उहाँको भनाइ छ । गण्डकी प्रदेश खेलकुदको पर्याप्त सम्भावना रहेको प्रदेशको रुपमा बताउँदै मुख्यमन्त्री गुरुङले छिट्टै प्रदेश खेलकुद परिषद्को गठन गरिने जानकारी दिनुभयो । नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद रामहरि खतिवडाले खेलकुद विकासका लागि क्षमतावान् नयाँ नयाँ खेल प्रतिभा पहिचान तथा उनीहरुलाई उचित अभ्यासको खाँचो रहेको बताउनुभयो ।
आइटिएफ तेक्वान्दोका प्रमुख सल्लाहकार लिलाभक्त थापाले खेलकुद विकाससँगै खेलाडीको संरक्षण तथा प्रोत्सहानका लागि राज्यको ध्यान जानुपर्ने बताउनुभयो । दुई दिनसम्म पोखरामा चलेको कार्यक्रममा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, बाग्लुङ, म्याग्दी, तनहुँ, नवलपुर, पर्वत र लमजुङका गरी १५० खेलाडी दिक्षित भएको र उनीहरुलाई पदर्शनअनुसार ‘ब्ल्याक बेल्ट फष्टडान’, ‘सेकेण्ड डान’ र ‘थर्ड डान’ को बेल्ट प्रदान गरिएको सङ्घका अध्यक्ष यमबहादुर थापा मगरले जानकारी दिनुभयो ।
गण्डकीका १० हजारलाई कोरोना खोप
गण्डकी प्रदेशका कूल १० हजार २५५ जनालाई कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाइएको छ । ६८औँ विश्व कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पत्रकार अन्तरक्रियामा उक्त जानकारी दिइएको हो । ‘कारोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता’ भन्ने मूल नारा साथ मनाइने दिवसका अवसरमा प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोनो विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार कास्कीमा चार हजार १०४, गोरखामा ७०७, तनहुँमा ७०८, नवलपुरमा ७३०, पर्वतमा ६४५, बागलुङ ८१८, मनाङ १२६, मुस्ताङ १३९, म्याग्दी ४१३, लमजुङ एक हजार ४ र स्याङजाका ८६१ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको हो । मुलुकका सातवटै प्रदेशमा सबैभन्दा बढी प्रगति गण्डकीमा भएको दाबी गर्दै उहाँले कोरोनाविरुद्धको खोप लगाइसकेपछि कुनै पनि जटिल अवस्था नभएको बताउनुभयो ।
खलकुद गतिविधि बढ्दै
कोभिड–१९ को सङ्क्रमण कम हुन थालेपछि पर्यटनकीय नगरी पोखरामा विभिन्न खेलकुद प्रतियोगिताले गति लिन थालेका छन् । विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोगथामको कारण भएको बन्दाबन्दीको कारण शून्य अवस्थामा पुगेको यस क्षेत्रको खेलकुदले पछिल्लो सयम गति लिन थालेको हो । यसैबीच पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकले १०औँ संस्करणको बगर भाइ एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता फागुनमा आयोजना गर्नेभएको छ । भाइ खलकको आज सम्पन्न कार्यसमितिको बैठकले ‘चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १०औँ बगर भाइ खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ आगामी फागुन २४ देखि २९ गत सम्म आयोजना गर्ने जनाएको हो ।
‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’ भन्ने भूल नारालाई आत्मसात गर्दै संस्थाले विगत विसं २०६८ देखि ४० देखि ६५ वर्ष उमेर समूहका पाका खेलाडी समेटेर भेट्रान्स फुटबल प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार नगद रु एक लाख ११ हजार र प्रमाणपत्र, उपविजेताले नगद रु ५५ हजार ५५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी यस वर्षदेखि सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद रु १० हजार प्रोत्साहन स्वरुप प्रदान गरिने संस्थाका अध्यक्ष डीलबहादुर गुरुङले जानकारी दिनुभयो । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफीसहित जनही नगद रु पाँच हजार प्रदान गरिने बताउँदै उहाँले सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित नगद रु १० हजार दिइने बताउनुभयो ।
रु १२ लाख खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा मित्र राष्ट्र भारत र नेपालका गरी करिब २५ टिमको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । प्रतियोगताको आयोजना गरिने पोखराको वगरस्थित टुँडी खेल मैदान युवा तथा खेलकुद मन्त्रालयको १५ लाखको लागतमा संरक्षणको अभियान शुरु गरिएको छ । खेलमैदान भित्र रहेको वगत प्रहरी विटसँगै विभिन्न सङ्घसंस्थाका कार्यालय भवन स्थान्तरणका लागि पहल भई रहेकोछ ।