तनहुँको व्यास नगरपालिकाले वडा नं ६ को सिसाघाटमा नयाँ शहरको अवधारणा ल्याएको छ । बुधबार बसेको नगरकार्यपालिकाको बैठकले सिसाघाट क्षेत्रलाई नयाँ शहरको रूपमा विकास गर्ने निर्णय गरेको हो । नगरपालिकाको पारस्परिक कोषसमेत नगर विकास कोषको अनुदानमा सहयोगमा सिसाघाटमा नयाँ शहरको अवधारणा ल्याइएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । त्यसका लागि प्रस्ताव तयार गरी नगर विकास कोषमा स्वीकृतिका लागि पठाउने निर्णय भएको छ ।
बैठकले कृषि तथा पशुपक्षी व्यवसायमा आबद्ध कृषकले कृषि प्रयोजनका लागि निर्माण गर्ने अस्थायी संरचना करको दायरामा नआएकाले कृषि तथा पशुपक्षी व्यवसायमा आबद्ध कृषकलाई करको दायरामा ल्याउने निर्णय गरेको छ । नगरपालिकाका शाखा अधिकृत एवं प्रवक्ता मेघनाथ आचार्यका अनुसार त्यस्ता संरचना निर्माण गर्दा भौतिक संरचनामा प्रतिवर्गफिट रु १०० का दरले नक्सापास दस्तुर लिने निर्णय भएको छ । साथै नगरपालिकाको कार्यालय परिसरको उत्तरतर्फ नगर विकास कोषको सरल ऋण तथा अनुदान एवं नगरपालिकाको पारस्परिक कोषको संयुक्त लगानीमा प्रस्ताव गरिएको बहुउद्देश्यीय भवन निर्माणका लागि नगर विकास कोषसँग सम्झौता गर्ने निर्णय बैठकले गरेको छ । बैठकले नगरपालिकालाई आवश्यक पर्ने विभिन्न ऐनहरुको मस्यौदा तयार गरी नगर कार्यपालिकाका पेश गर्न विधायन समितिलाई निर्देशन दिनुका साथै बाल अधिकार संरक्षण तथा संवद्र्धनसम्बन्धी कार्यसञ्चालन कार्यविधि पारित गरेको छ ।
मादीनदीको प्राकृतिक साधन उपयोग कर असुलीका लागि कार्यालयले खोलेका विभिन्न घाटहरुबाट हुने कर असुली प्रक्रियालाई थप कडाइका साथ पारदर्शी एवं व्यवस्थित गराउनका लागि आवश्यक व्यवस्था मिलाउनुका साथै घाटमा बस्ने कर्मचारीका लागि आवश्यक अस्थायी बिट तत्कालै निर्माण गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
पत्रकार खनालद्वारा रु दुई लाखको अक्षयकोष स्थापना
नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष मुक्तिनाथ खनालले शाखामा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्व श्रीमती भवानीको स्मृतिमा उहाँले पत्रकार महासङ्घ तनहुँ शाखामा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको हो I
खनालले बुधबार काठमाडाँैस्थित आफ्नै निवासमा शाखाका पूर्वअध्यक्ष प्रदीप काफ्लेलाई रु दुई लाखको चेक हस्तान्तरण गर्नुभयो । शाखामा पत्रकारिता अक्षयकोष स्थापना गर्ने विगत केही वर्षदेखिकै चाहनाबमोजिम आफूले सहयोग गरेको खनालले बताउनुभयो । महासङ्घ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यले पत्रकारिता अक्षयकोष स्थापना गरेकामा खनाललाई धन्यवाद दिँदै अक्षयकोषबाट प्राप्त हुने रकमबाट वार्षिकपमा क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।यसअघि व्यास नगरपालिका–७ कलेस्तीका रणबहादुर गुरुङले रु ५० हजारको सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, दमौलीका भाग्यशाली ढुङ्गानाले रु एक लाखको टीकानिधि ढुङ्गाना स्मृति पत्रकारिता पुरस्कार र निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठले रु एक लाखको भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ ।
शाखाले सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई, टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी, २०७६ प्रदीप काफ्लेलाई र भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गर्ने निर्णय गरिसकेको छ ।
अस्पताललाई जेनेरेटर
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले दमौली अस्पताललाई रु १२ लाख बराबरको जेनेरेटर उपलब्ध गराएको छ । चार सय १५ भोल्टेजको जेनेरेटर प्राप्त भएपछि बिजुली गएको खण्डमा अस्पतालमा सेवा दिन सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।
हालै मात्र अस्पतालमा थाइराइड उपकरण आइपुगेको छ । उक्त उपकरण सञ्चालनपछि जिल्लामै पहिलोपटक सरकारी अस्पतालमा थाइराइड सेवा परीक्षण हुनेछ । अस्पतालमा केही समय अगाडि चार थान भेन्टिलेटर आएको थियो । साथै अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । विसं २०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो । बिनाअक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेसिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो ।
अवैध घरेलु मदिरा नष्ट
अवैध मदिरा नियन्त्रण समिति तनहुँले बजार क्षेत्रबाट बरामद भएको अवैध मदिरा नष्ट गरेको छ । आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत एवं समितिका संयोजक नारायण ढकाल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जनप्रतिनिधिलगायत व्यवसायीको उपस्थितिमा बुधबार अवैध मदिरा नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालयले केही समय अगाडि बरामद गरेको ९५ लिटर घरेलु मदिरा आन्तरिक राजश्व कार्यालयको कार्यालय परिसरभित्र नष्ट गरिएको हो ।