दम्माम,(अन्जान गुभाजु)- नेपाल मगर संघ प्रवास शाखा साउदी अरेबियाले माघ्या सकराटी (माघे संक्रान्ती)को शुभकामना आदानप्रदान कार्यक्रम सहित भोजपुरका मृगौला पीडित सुर्य ब. तामाङलाई आर्थिक सहयोग गरेको छ।
कोभिड-१९ कोरोना कहरलाई मध्येनजर गर्दै साउदी सरकारको नियम मान्दै खोवारको तुक्वा स्थित हारोज होटेलमा गत शुक्रबार संघका सदस्यहरु र सिमित पाहुनाहरुलाई मौखिक रुपमा निमन्त्रणा गरेर माघे संक्रान्ति शुभकामना आदानप्रदान गरिएको आयोजकको तर्फबाट रेशम पुनःले मुग्लानी खबरलाई जानकारी दिए ।
पुनःका अनुसार मगरहरुले माघ्या सकराटीमा आफ्ना छोरी चेलीबेटीहरुको पुज्ने चलन पुर्खा देखि चलिआएको पहिलो पटक साउदीमा आफ्नो पुर्खाको चलन अनुसार उपस्थित चेलीबेटीहरुलाई खादा र टीका लगाई स-सम्मान गरिएको बताएको छ। मगर संघका सल्लाहकार प्रेम सिन्जाली मगरले स्वागत तथा उपाध्यक्ष धन कुमारी पुनः मगरले संघको तर्फ शुभकामना मन्तव्य राखेका थिए !
कार्यक्रममा तमुधी साउदीका अध्यक्ष खेम तमु, एनए मिडियाका आर्थिक बिभाग प्रमुख डि बि थापा र दिदिबहिनी समुहकी अध्यक्ष तुलसी गुरुङ ,अन्तर्राष्ट्रिय रोल्पाली साउदीका बरिस्ठ सल्लाहकार दिपक थापा, किराँत यायोक्खा साउदीका उपमहासचिव रबिन थुलुङ्ग राई लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा दुवै मृगौला फेल भोजपुर नपा-१, हेलौछाका हाल काठमाडौस्थित नेसनल किड्नी सेन्टर बनस्थलीमा उपचाररत सुर्य बहादुर तामाङलाई १ हजार ६७३ रियाल (ने रु करिब ५० हजार )आर्थिक सहयोग समेत गरेका थिए ।
उक्त रकम संघका अध्यक्ष बम ब थापा र दिदिबहिनी समूह साउदीकी अध्यक्ष तुलसी गुरुङले संघका महासचिव तथा आर्थिक संकलन अभियानका संयोजक डम्बर आले मगरलाई हस्तान्तरण गरेका थिए । संघको अध्यक्ष बम ब थापाको सभापति रहेको कार्यक्रम महासचिब डम्बर आले मगरले संचालन गरेका थिए। कार्यक्रममा संक्रान्ती विशेष परिकारका रूपमा तरुल, सखरखन्ड, सेलरोटी लगायत विभिन्न परिकार सहित सहभागी पाहुनाहरुलाई भोजन गराएका थिए ।