प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने बताएका छन्।
सोमबार आफ्नै कार्यकक्षमा भारतीय टेलिभिजन जीन्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हैसियत भएको स्पष्ट पारेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतको सानो भाई नभएको बताएका छन्। उनले सानो र ठूलोको सोँचले नै समस्या निम्त्याउने बताए। भारतीय न्यूज च्यानल जी न्यूजका लागि दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘यो पुरानो समय होइन। आकारमा सानो होला तर नेपाल भारतको सानो भाई होइन। बसह भएको छ। बहसले सत्य खोज्न सहयोग गर्छ। यो सानो, ठूलोको मानसिकता त्याग्ने हो भने समस्या हुँदैन। व्यक्तिगतरुपमा मोदी दाई हुन। होलान्, उमेरका हिसाबले। तर जब दुई प्रधानमन्त्री बस्छन् त्यहाँ कोही सानो ठूलो हुँदैन। संसारमा कैयौं कान्छा मान्छे पनि प्रधानमन्त्री छन् राष्ट्रपति छन्। कति त मैले राजनीति शुरु गर्दा जन्मेकै थिएनन् होला।’
ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको पनि स्पष्ट सन्देश दिएका छन्। उनले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए।
उनले नेपाल भारत र चीनलाई फरक ढंगले व्यवहार गर्ने नभइ पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अंगिकार गरिरहेको बताए। ओलीले नेपाल कुनै पनि देशकाे साथमा लागेर अर्काे देश विरुद्ध आफ्नाे जमिन वा आकास प्रयाेग गर्न नदिने बताए।
प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशमा शान्ति कायम भएमा नै नेपाल पनि सुरक्षित हुने बताएका छन्। भारत र चीन दुवै देशले चाहेमा आफू मध्यस्थता गर्न तयार रहेको पनि उनले बताए।