काठमाडाैं : नेकपा ओली पक्षले गरेको भेलालाई सम्बोधन गर्न कैलालीको धनगढी पुगेका प्रधानमन्त्री ओलीले देश विकासमा आफ्नो सरकारले अरु सरकारभन्दा बढी काम गरेको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले भाषणको सुरुमा सुदूरपश्चिम प्रदेशको खुलेर तारिफ गरेका छन्। सुदूरको चर्चा गर्दै उनले प्राकृतिक स्रोतको चर्चा गरेका थिए। सुदूरसँगै नेपाल पनि पछि परेको उनले बताए। सुदूरलाई पछि पार्ने कुनै तागत कसैको अब नहुने उनले बताए। 'यहाँका मान्छे भारत गएका छन्। नेपालीका रगत पसिनाले थुप्रै देश बनेको छ, सुदूरमा अशिक्षा र गरिबीको समस्या स्वास्थ्य र रोजगारीका समस्या छन्, सुकुमबासीका र सिँचाइका समस्या छन् यो मैले बुझेको छु,' उनले बताए।
चाँदनी दोधाराका लागि शारदा नदीबाट पानी छाड्ने योजना भारतसँग गरेको सुनाउँदै सिँचाइको समस्या समाधान हुने आश्वासन दिए। कञ्चनपुर र कैलाली मात्र नभै यस प्रदेशमा असाधारण लाभ हुने उनले बताए।
पञ्चेश्वर परियोजना पनि अघि बढाइने उनले बताए। गेटा मेडिकल कलेज र मेडिकल कलेज विश्वविद्यालयको काम बढाइएको उनले बताए। अत्तरिया धनगढी बाटो बेलैमा अघि बढाइने उनले आश्वास दिए।
१४ तारिखमा परराष्ट्रमन्त्री भारत जाँदा यस विषयलाई उठाउने बताए। सेती लोकमार्ग र महाकाली करिडोरको काम बढिरहेको पनि उनले जनाए। छाङ्रुसम्मको बाटो मोटरेबल हुने पनि उनले बताए। बैतडीमा चरेस खानी पत्ता लागेकाले विकास गरिने बताए।
कृषिमा रोजगारीमा सरकार लागिपरेको बताउँदै नेपालमा नै सरकारले रोजगारी खोज्ने ध्याउन्नमा लागेको बताए।
पछिल्लो समय देशमा विकास बढेको भन्दै सरकारले कालोपत्रे सडक बनाउन निकै ध्यान दिएको बताए। अहिलेसम्म ४५ सय भन्दा बढी किलोमिटर बाटो बनाएका उनले दाबी गरे।
नाकाबन्दीविरुद्ध साथ नेपाली जनताको रहेको भन्दै उनले त्यही अडानले आफूहरुले त्यसलदाई परास्त गरेको बताए। 'मुस्ताङको नाका हामीले यस वर्ष खोल्दैछौँ। कैलाश मानसरोवर जाने बाटो बनाउँदै छौँ। भारतसँगको हाम्रो सम्बन्ध, आफ्ना अधिकार सुरक्षित राखेर हाम्रो भूमि सुरक्षित राखेर लिम्पियाधुरा, कालापानीलगायत भूमि, त्यसलाई समेटेर नक्सा जारी गर्यौँ,' उनले दाबी गरे।
कहिल्यै एकमत नभएको संसद त्यसबेला एक भएको भन्दै उनले केहीलाई छटपटी भएको भन्दै नेपालको भूमि समेटेर नक्सा ल्याउँदा यही प्रदेशको मान्छेलाई टाउको दुखेको पनि टिप्पणी गरे।
संसद विघटन असंवैधानिक भनेर हल्ला चलाइरहेका छन्। म तिनीहरुलाई संविधान दोहोर्याएर पढ्न आग्रह गर्दछु।
६४ प्रतिशतको सर्वसम्मतको प्रधानमन्त्री मै हो मैले विघटन भइसक्यो भनेपछि अब प्रतिनिधिसभा चुनाव बाट आउँछ। केपी अोलीले चुनाव गराउँदैन भनिरहेका छन्। म फेरी भन्छु चुनाव बैशाख १७ र २७ गते नै हुन्छ। चुनाव दुई चरणमा तोकेको छु। वैशाख १७ गते शुक्रबार २७ सोमबार दुई दिन हुन्छ। चुनाव हुन्छ। चुनावमा लाग्नुस्।