काठमाडौं । बाँकेको बौनाथ गाउँपालिकामा आरन पेसा अंगालेर जीविकोपार्जन गर्ने परिवारको संख्या धेरै छ । आरन पेसा गर्नेहरुले गाउँकै मानिसहरुको बालीघरे बस्ने र वर्षभर फलामको काम गरेबापत् ज्यालाको रुपमा अन्न लिने प्रचलन छ ।
यसरी काम गर्दा जीवन निर्वाह भए पनि अतिरिक्त बचत नहुँदा समस्या हुने गरेको गुनासो आरन पेसा अंगाल्नेहरुको छ ।
बैजनाथ गाउँपालिका–८ का प्रेमबहादुर विकले ३५ वर्षदेखि फलामका औजारहरु बनाएर जीवनयापन गर्दै आएका छन् । आफ्नो जीवन निर्वाह गर्न बालीघरे (खलो) प्रथामा फलामका सामग्री बनाउने र त्यसको सट्टामा ज्यालास्वरुप अन्न लिने गरिन्छ । विकले अहिले करिब १०० घरधुरीको फलाम पिट्ने काम गर्दै आएका छन् ।
लामो समयदेखि आरन पेसा अपनाएका विकले जीवन निर्वाहबाहेक जीवनमा कुनै परिवर्तन नआएको गुनासो गरे । वर्षभरि काम गरेबापत् अन्नपात ल्याएर परिवार पाल्नुबाहेक अन्य कुनै प्रगति नभएको उनको भनाइ छ ।
एसएलसी उत्तीर्ण गरेका विकले आरन पेसालाई व्यावसायिक बनाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।
बैजनाथ गाउँपालिकाकै विन्दु सुनारले पनि विगत २७ वर्षदेखि फलाम पिट्ने काम गर्दै आएका छन् । उनले पनि बालीघरे प्रथाअनुसार नै ज्यालाको रुपमा अन्न लिन्छन् । आरन पेसाबाट घरमा .खाने कुराको अभाव नभएको तर दुःख गरेअनुसारको मूल्य नपाएको गुनासो उनको छ ।
यस्तै, पछिल्लो समय निकुञ्ज स्थापना भएपछि फलाम पोल्ने गोल पाउनै मुस्किल भएकोले आरन पेसा संकटमा पर्न लागेको गुनासो समेत गरे ।
बाँके जिल्लाभित्र अहिले पनि बालीघरे प्रथामा आरन काम गर्ने दर्जनौँ छन् । वर्षभरि काम गर्ने र त्यसको ज्यालास्वरुप अन्नपात ल्याउने भएकाले उनीहरुको जीवनमा कुनै परिवर्तन भने आएको छैन ।