गोकर्णेश्वर नगरपालिका १ का वडा अध्यक्ष राम मानन्धरले किराँत समुदायको महान् चाड उधौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर), कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातिको तमु ल्होसार, धान्यपूर्णिमा र यःमरी पुन्ही २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले उधौली, चाक्चाकुर, तमु ल्होसार, धान्यपूर्णिमा, यःमरी पुन्हीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको छ ।
यस प्रकारका मौलिक सांस्कृतिक चाडपर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको अध्यक्ष मानन्धरले बताउनुभएको छ । उहाँले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्यसमेत रहेको बताउनुभएको छ ।
अध्यक्ष मानन्धरले सुरक्षित र सजगता अपनाएर चाडपर्व मनाउनसमेत आग्रह गर्दै विगत वर्षहरुमा हर्षाेल्लासका साथ मनाउँदै आएका हाम्रा चाडपर्व यस वर्ष कोरोना भाइरसका कारण असहज र अप्ठ्यारो परिस्थितिमा मनाउनुपरेको रकोरोना भाइरसको बढ्दो सङ्क्रमणबाट बच्न जो जहाँ छौँ, त्यही बसेर सुरक्षित तवरले चाडपर्व मनाउन विशेष अनुरोध समेत गर्नुभएको छ।