काठमाडौं ,१३ पुस
प्रतिनिधि सभा विघटनविरुद्ध सिन्धुपाल्चोक क्षेत्र २ नेपाली कांग्रेसले मेलम्चीमा विरोध प्रदर्शन गरेको छ।
क्षेत्रीय सभापति आइतमान तामाङको सभापतित्वमा भएको बिरोध सभामा काँग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत प्रमुख अतिथि रहेका थिए।
बिरोध प्रदर्शन मेलम्ची खानेपानी कार्यालयदेखि मेलम्ची नगर भवन परिक्रमा गर्दै हेलम्बु बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो।
बिरोध सभालाई मेलम्ची नगरका सभापति मधुसूदन सिग्देलले स्वागत गरेको थियो।प्रमुख अतिथिका रुपमा रहेका कांग्रेस केन्द्रिय सदस्य विष्णुविक्रम थापाले नेकपाको आन्तरिक किचलोले गर्दा भागबन्डा नमिलेको कारण प्रधानमन्त्री ओलीले संसद विघटन गरेको आरोप लगाए।
कांग्रेस जिल्ला सभापति लामाले नेकपाको अर्थ ब्याख्या गर्दै ओली सरकारले देशै खान खोजेको आरोप लगाए। लामाले भने, ' नेवारी भाषामा ने भनेको खाने र कपा भनेको क्वप्पा खानु हो। नेकपाले देश क्वाप्पै खायो। तर पचाउन सकेन। त्यही भएर संसद विघटन गर्यो।'
प्रदेश सांसद निमा लामाले ओली सरकार 'चटके सरकार' भएको दाबी गरे। उनले भने, 'सरकारले चटकमात्रै गरेर बस्यो। चटक गर्ने र नाटक गर्दै जनतालाई भुलाएर भ्रष्टाचारमा लिप्त बने। अहिले भागबन्डा मिलेन अनि संसद विघटन गर्यो।'
चटकेले कालो मसान खेलाएर आफ्नो सहयोगीलाई छुरा हानेजसरी प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा छुरा हानेको लामाको आरोप थियो।
सांसद निमा लामाले प्रदेश सभा भंग गर्न ओली लागेको कुरा यदि साँचो भए त्यसको प्रतिवाद गर्न आफूहरु पछि नपर्ने ठोकुवा गरे। यता उपसभापति शिव सुनारले कोरोना भाइरस देश आक्रन्त भैरहेको बेला 'कमाउनिस्ट भाइरस'ले देशलाई आक्रन्त बनाएको आरोप लगाए।
सभामा सम्बोधन गर्दै कांग्रेस महासमिति सदस्य गङ्गा चापागाईंले कांग्रेस चुनावसँग नडराएको उल्लेख गरिन्। भनिन्, 'काँग्रेस चुनावसँग डराएको छैन र देशको सिस्टम बिग्रन्छ कि भनेर मात्रै डराएको हो।'
यता गाउँपालिका राष्ट्रिय महासङघका महासचिव एवम् इन्दावती अध्यक्ष बंशलाल तामाङले जनताको जनादेशअनुसार कांग्रेस प्रतिपक्षमा बसेर सरकारलाई सहयोग गरे पनि नेकपाको सरकारले भ्रस्टाचारमात्र गरेको र विकासको काम गर्न नसकेको आरोप लगाए।
जिल्ला सचिव बिलबहादुर तामाङ ले विरोध सभालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने वा विश्वासको मत लिनसक्नुपर्ने अवस्थामा संसद विघटन गरी जनतालाई दुख दिएको बताए।
विरोधसभामा पाँचपोखरी र इन्द्रावती गाउँपालिका नेकपा र राप्रपा पार्टी परित्याग गरी ४० जना काँग्रेसमा प्रवेश गरेका थिए।