"हामी त असाध्यै अब्बल छाैँ ?"
छाेटाे मन, सानाे दिमाग र लघु साेच भएका भिजिलान्तेजस्ता मानिसहरू आफ्ना गँवार पनमा आफुलाई आकासकाे उचाइ सँग नापिरहन्थे ।
मनगढन्ते उच्छ्वासमा नचाहिंदाे तर्क वितर्क गरिदिने काेही थिएनन् । बरू मञ्चमा तालीका साथ बेतुकका गफ पड्काएर हाँसिरहन्थे ।
तिनलाई प्रतिभाकाे गहिराइ छेउ झुलुक्क देख्दा प्रतिभाले सम्पन्न महान आदर्श व्यक्तित्व छन् नै जस्ताे भाव प्रकट हुन्याे । प्रतिभाकाे आभाहरूमा कहिलेकाहीँ स्वागत सम्मानकाे खाँचाे पर्दैन थियाे । उनीहरू तब आदर्शले खुब बाँचेकाे ठानेर भन्थे । --"हैन त साथी ? के मरिलानु छ त ! गर्ने त हाे जीवनमा !"
"उमम् ! हाे त सामाजिक जिम्मेवारी !" सबैका सदभाव मिलेका यस्ता कुरा सुन्दा उनीहरूमा देवत्व पलाए झैं हुन्थ्याे । उनीहरूकाे नव खान्दानी व्यक्तित्व जुरूक जुरूक भएर ताण्डव नृत्य गर्दथ्याे ।
"लाैन ! प्रमुख अतिथि बनाउनु न यसपाली !" विशेष आग्रह र अनुराेधमा उचालिएकाे महानतम् हैसियतमा कस्काे के लाग्दथ्याे र ? मञ्चकाे शाेभा, प्रदर्शित अङ्ग भाषा र पहिरनकाे तालमेलमा एउटा बुकुराे बुकी चट्ट सजिदिन्थ्याे । हातमा उत्कृष्ट महामानवकाे एउटा कलम र डायरी सजिएकाे थियाे ।
--"दर्शन हजुर ! दर्शन !"
लामाे निश्वासकाे एक फन्काेमा उलल्लासमय गरिमाकाे स्वरले सुकेकाे ज्यान फुलेर बेलुन झैं हुन्थ्याे । एकछिन फुलिरहन्थ्याे । सबैकाे तालीकाे सलामीमा मनुष्य जन्मकाे श्री सात ओजन पूर्ण हुन्थ्याे। मञ्चमा उभेका एकवक्ताले कुम्भमेलामा आँटले छिनालेर भनिदिए ।
"प्रतिभाकाे बिगबिगी !"
बिगबिगी बारे लामाे चर्चा वक्ताबाट सुनेपछि अब्बल व्यक्तित्व सबै खिस्रिक्क परेर सभाहलबाट लुसुलुसु उठेर हिंड्न थाले ।सभापतिले घाेषणा गरिदिए ।
"महान प्रतिभाका बारेमा उठेका प्रश्नकाे छानबिन अवश्य नै गरिनेछ ।"
एकदिन सभापतिले सबै महान प्रतिभाहरूकाे छानिबन गर्न फेसबुककाे बाल, छाेटा छाेटा रचना र कपिपेष्ट एप्स बारेकाे रहस्य खाेज्ने विचार गरे । जब यस्ता तथ्यहरू खाेज्दै गए तब उनले तथ्यहरू पत्ता लगाए ।
"कट पेष्ट महाकवि, कट पेष्ट महान गजलकार, कट पेष्ट धुरन्धर लघुकथाकार एवं कट पेष्ट वरिष्ट साहित्यकार !"
त्यसपछि अर्काे दिन सभापति महाेदयले मञ्चबाटै आवेशमा चिच्याए ।
"बिगबिगीकाे महान मुखुण्डाे !"
पछि पछि बाटाेमा ती महान आदर्शहरूलाई कसैले देख्याे कि उनीहरू आफै लुसुक्क आउँथे । खुसुक्क साखुल्ले भएर मन पखालेर भन्थे ।
"अचेल शरम पाचकहरू त झन बढेछन् नि !" कालाे, अमिलाे, राताे र गुलाबी जस्ताे विभिन्न रङमा अब्बल मुखुण्डाे फेरि परिवर्तन भएथ्याे ।