बालाजु २२ धारा पार्क नजिकैको शिवालय क्षेत्रमा औषधिय गुणलेयुक्त गुर्जोको ५०० बिरुवा रोपिएको छ । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाललगायत स्थानीयवासी गुर्जो रोपण कार्यक्रममा सहभागी हुनुभएको थियो । गुर्जोका बिरुवा देशव्यापी रुपमा रोपण अभियानमा लाग्नुभएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराउनुभएको हो ।
राजलवट आन्तरिक राजश्व कार्यालय लाहानमा हुँदादेखि नै त्यहाँको सरकारी निवासमा बिरुवा उत्पादन गरी निःशुल्क वितरण अभियानमा लाग्नुभएको छ । राजलवटले हालसम्म देशका विभिन्न भागमा गरी एक लाख ४० हजार भन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ । गुर्जोका बिरुवा वितरण गरिएका स्थानमा गुर्जोबाट बनेको धुलो, चिया, डाँठसमेत वितरण गर्दै आएको उहाँले बताउनुभयो । देशभर एक घर एक गुर्जोका बिरुवा हुनुपर्ने उहाँको भनाइ छ ।
मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ओषधिय गुणलेयुक्त वनस्पति गुर्जो कोरोना भाइरसबाट बच्न शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य संस्कृतमा अमृता भनिने गुर्जोले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने बताउनुहुन्छ ।
सो अवसरमा बालाजु २२ धारा टोलवासीलाई पनि ५०० गुर्जोका बिरुवा हस्तान्तरण गरिएको थियो । जसलाई स्थानीयवासीले घर–घरमा रोप्ने जनाइएको छ । कार्यक्रममा रािष्ट्रय योजना आयोगका सहसचिव तथा योग शिक्षक किशोर जोशीले गुर्जोको औषधिय महत्वका विषयमा जानकारी गराउनुभएको थियो । गुर्जो पाँच वर्ष मुनिका बालबालिका र गर्भवती महिलाबाहेक सबैले सेवन गर्न सक्नेछन् ।
कोरोना महामारी फैलिएपछि गुर्जोका बिरुवा घरमा रोप्ने र यसको धुलो, चिया, डाँठलगायत सेवन गर्नेको सङ्ख्या बढेको छ । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन भूमिमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने मान्यताअनुसार नेपालको अधिकांश भूगोलमा हुने गुर्जो यहाँका मानिसका लागि औषधिको काम गर्ने भएकाले यसको संरक्षण गरिनुपर्नेमा वृक्षरोपण कार्यक्रममा जोड दिइएको थियो ।