नेपाल–भारत सीमा क्षेत्र दोधारा चाँदनी नगरपालिका–१० कञ्जभोजमा आज सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबहादुर थापाले बिओपीको एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले मातृभूमिको रक्षाका लागि सशस्त्र प्रहरी सीमा क्षेत्रमा चौबिसै घण्टा तैनाथ रहेको बताउनुभयो । “सीमा क्षेत्रको सुरक्षा गरी मातृभूमिको ऋण चुक्ता गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “यसका लागि स्थानीय नागरिकसँग न्यायोचित सम्बन्ध बनाई सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने कार्यमा लागेका छौँ ।” विगतमा सीमाको रक्षा आम नागरिक र प्रहरीको सीमा चौकीले मात्रै गर्दै आएको चर्चा गर्दै उहाँले हाल सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीको काँधमा आएको बताउनुभयो ।
दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले सीमा पारिपट्टि बस्दै आएको भारतीय सीमा सुरक्षा बल एसएवीसँग पर्याप्त भौतिक पूर्वाधार भए पनि बिओपीमा बस्ने सशस्त्र प्रहरीसँग बस्नका लागि त्रिपालसमेत नभएको बताउनुभयो । “नेपाल सरकारले बिओपीमा बस्ने सशस्त्र प्रहरीका लागि पर्याप्त बजेटको व्यवस्था गरी भौतिक पूर्वाधारका लागि संरचना निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नगरपालिकासँग पर्याप्त बजेट नभएकाले सहयोग गर्न पाएका छैनौँ ।”
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्लाको शान्तिसुरक्षा र विपद् व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरीले प्रभावकारीरुपमा कार्य गरिरहेको बताउनुभयो । सीमा स्तम्भको सुरक्षासँगै सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले अग्रणी भूमिका खेलेको उहाँले बताउनुभयो । “सशसत्र प्रहरी सीमा क्षेत्रमा बसेपछि सकारात्मक परिवर्तन आएको पाइएको छ”, उहाँले भन्नुभयो, “भौतिक सुविधाको अभाव छ । हावाहुरी आए बस्न नसकिने अवस्था छ । बलियो पूर्वाधार आवश्यक छ । यसका लागि स्थानीय तहहरुले योगदान दिन जरुरी छ ।”
उद्घाटन कार्यक्रममा बिओपी स्थापनाका लागि पाँच कट्ठा जग्गा दान गर्नुहुने खडकबहादुर बस्नेतलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण थापाले सम्मानित गर्नुभयो । सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने बिओपीमा २५ जना जवान तैनाथ छन् । सीमा स्तम्भ नं ७७९ देखि ७९५ सम्मको नगरपालिका–८, ९ र १० को सीमा क्षेत्र यस बिओपीमा कार्यरत सुरक्षाकर्मीको जिम्मामा छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक गणपति वीरेन्द्रबहादुर ऐरका अनुसार कञ्चनपुरमा १२९ दशमलव पाँच किलोमिटर नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १८ वटा बिओपी स्थापना गरिएका छन् । २५ वटा बिओपी स्थापना गर्ने लक्ष्य छ । छवटा बिओपीका लागि स्थायी भवनका लागि टेन्डर प्रक्रिया अगाडि बढेको छ ।