रामप्रसाद पराजुली, कतार
राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संघीयता विरुद्धको देशब्यापी कार्यक्रमलाई कतार नेपाली एकता समाजे ऐक्यवद्धता प्रकट गरेको छ । आइतबार कतारमा एक कार्यक्रमको आयोजना गरी संघीयता विरुद्ध ऐक्यवद्धता प्रकट गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्टिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनले संघीयताले देशलाई दुर्घटनातर्फ लैँजादै गरेको तर्फ सचेत गराउनुभएको थियो । उहाँले देशको आर्थिक स्रोतबाट कर्मचारीलाई समेत तलब दिन नसकेर विश्व बैंकबाट ऋण लिनपर्ने अवस्थाको मुलुकले संघीयताको भारी बोकाएर जनताको टाउकोमा ऋण थुपारिदिने काम बाहेक अरु नभएको स्पष्ट पार्नुभयो ।
यस्तै कतार नेपाली एकता समाजका अध्यक्ष विष्णु थापाले संघीयताको खर्चकै कारण कोरोना महामारीको उपचार हुन नसकिरहेको स्पष्ट पार्दै अब जनताले संघीयता खारेज गर्नुपर्ने बताउनुभयो ।
जुम मार्फत भएको सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बिष्णु थापा क्षेत्री र सञ्चालन महासचिव खिम बूढाले गर्नुभएको थियो भने कमल आचार्यले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा दुबई नेपाली एकता समाजका अध्यक्ष दिनेश थापा तथा कतार नेपाली एकता समाजका बिभिन्न विभाग, एरिया, इकाईका प्रतिनिधिहरुले समेत ऐक्यवद्धता प्रकट गर्नुभएको थियो ।
केन्द्रीय कोषाध्यक्ष लक्ष्मण कोइराला, महिला संयोजक जानुका बस्नेत, सनाया डी एरिया समितिका अध्यक्ष टेकराज थापा, बुद्धिजीवी विभागका अध्यक्ष हरि शर्मा, रक्तिम विभागबाट बिमल भुसाल लगाएतले पनि ऐक्यवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।