वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले राजनीतिसँगै उद्यममा नजाने हो भने समाजवादको बाटोमा पुग्न नसकिने बताउनुभयो ।
युवा राजनीतिसँगै व्यवसायमा पनि अग्रसर हुनुपर्ने बताउँदै मन्त्री ढुङ्गेलले भन्नुभयो, “एउटा हातमा राजनीतिक झण्डा र अर्काे हातमा उद्यम रोजगारीको झण्डा बोकेर अगाडि बढ्नुपर्छ ।” उद्यम गर्ने युवाहरुका लागि प्रदेश सरकारले अनुदान र सहुलियत ऋणको व्यवस्था गरेको बताउँदै मन्त्री ढुंगेलले भन्नुभयो “काम सानो ठूलो नभनी उत्पादनमा जोडिनुहोस् । प्रदेश सरकार सहयोग गर्न तयार छ ।”
कम्युनिष्ट पार्टीले बहुदलीय प्रतिस्पर्धाबाट जनताको मन जितेर सत्तामा जाने नीति जबजले नै लिएको बताउँदै उहाँले प्रश्न गर्नुभयो, “जबजको बाटोमा हिँड्ने तर त्यो बाटोमा हिँडेको छु भन्न किन डराउने ? लोकतन्त्रमा यो विषयमा बोल्न पाइन्छ ।”
सो अवसरमा १०१ सदस्यीय मदन भण्डारी फाउण्डेन कालिका नगर कमिटी र १०१ सदस्यीय मदन भण्डारी स्पोर्ट्स एकेडेमी नगर कमिटी घोषणा गरिएको थियो । मदन भण्डारी फाउण्डेशन नगर कमिटीको अध्यक्षमा केशव लामा रहनु भएको छ । समितिका उपाध्यक्षमा लक्ष्मण पौडेल, भोजराम थपलिया र ज्योति सुनार रहनुभएको छ भने सचिवमा सिपी अधिकारी, कोषाध्यक्षमा विमला लामा र सहसचिवमा होमनाथ मरहठ्ठा चयन हुनुभएको छ ।
यस्तै मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीका अध्यक्षमा पूर्ण महतो, उपाध्यक्षमा नगेन्द्र गिरी, लोकराज चालिसे, नवीन थापा, प्रेम थापा र कमल रिजाल, सचिवमा युवराज कामना गुरुङ, सहसचिवमा निमा दोर्जे तामाङ (अनिल), कोषाध्यक्षमा पल्लवी अधिकारी र सहकोषाध्यक्षमा रमेश सिङ्खडा रहनुभएको छ ।
प्रदेश सभासदस्य विजय सुवेदी, फाउण्डेशन जिल्ला वरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम विष्ट, फाउण्डेशन १ नं क्षेत्रीय समिति सल्लाहकार यादव पाठक, फाउण्डेशनका जिल्ला सदस्य तथा कालिका वडा नं ३ का वडाध्यक्ष टीकाराज रिजाल, मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटी सचिव युवराज गुरुङलगायतले बोल्नुभएको थियो ।