१० मङ्सिर : जापान भ्रमणमा रहनु भएका चिनियाँ विदेश मन्त्री वाङ यीले जापानका विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गर्नुभएको छ ।
उहाँले वर्तमान प्रधानमन्त्री योशिहिदा सुगा, पूर्व प्रधानमन्त्री यासुओ फुकुदालगायतसँग भेटवार्ता र छलफल गर्नुभएको हो ।
उहाँले बुधबार प्रधानमन्त्री योशिहिदासँगको भेटवार्ताका क्रममा दुई पक्षीय हित र सहकार्यका बारेमा छलफल गर्नुभएको जनाइएको छ । जापानमा नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदाको आगमनसँगै चीनले अझ उचाइका साथमा दुई देशको सम्वन्ध सुधार गर्न चाहेको वाङले बताउनुभएको थियो । उहाँले चीनले जापानलाई विषेश महत्व दिएको पनि प्रधानमन्त्री योशिहिदालाई जानकारी गराउनु भएको थियो ।
भेटवार्ताका क्रममा उहाँले दुई देशको सम्वन्ध र सहकार्यलाई नयाँ तहबाट अगाडि बढाउन स्पष्ट मार्गदर्शण होस भन्ने चाहेको पनि बताउनु भएको थियो ।
यसैक्रममा जापानका प्रधानमन्त्री योशिहिदाले जापान र चीनको स्थिर सम्वन्ध दुई देशका लागि मात्रै नभई यस क्षेत्र र अन्तर्राष्ट्रिय परिवेशकै लागि अर्थपूर्ण हुने धारणा राख्नु भएको थियो ।
आपसी सम्वन्धलाई बलियो र उपलब्धिमुलक बनाउन दुवै देश उत्तिकै जिम्मेबार हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो ।
त्यसैगरी चिनियाँ विदेश मन्त्री वाङले जापानका पूर्व प्रधानमन्त्री फुकुदासँगको भेटवार्ताका क्रममा पनि आपसी सम्वन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने बारेमा नै कुराकानी गर्नुभएको थियो ।
उहाँहरु दुवै जना दुई देशको सम्वन्धलाई अझ घनिष्ट बनाउदै लैजाने गरी अगाडि बढ्न सहमत हुनुभएको जनाइएको छ ।
जापानमा नयाँ सरकार आएसँगै नयाँ ढंगले दुई देशको सम्वन्धलाई मजबुद गराउन चाहेको विदेश मन्त्री वाङ्ले बताउनु भएको थियो । रासस÷सिन्ह्वा)