बैतडीको पाटन पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु गरिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त बजेटमा सडक स्तरोन्नति कार्य शुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिनुभयो ।
मेलौलीदेखि पञ्चेश्वरसम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि कन्काई–कुमार केएस जेभीसँग रु ४१ करोडमा ठेक्का सम्झौता गरेर सडक स्तरोन्नति कार्य शुरु गरिएको हो । विसं २०८० असार २० गतेसम्म कालोपत्रे गरिसक्ने लक्ष्यसहित सडक स्तरोन्नतिको काम शुरु भएको कार्यालय प्रमुख जोशीले बताउनुभयो ।
तल्लोसोराड जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको पाटन–पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्डमा कालोपत्रेको काम शुरु भएपछि स्थानीयवासी खुसी भएका छन् । लामो समयपछि तल्लोसोराड क्षेत्रमा सडक स्तरोन्नतिको काम शुरु भएपछि खुसी भएको स्थानीय केशवसिंह भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “तल्लोसोराड क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्य धमाधम शुरु भएको छ । यसले हामीलाई धेरै खुसी लागेको छ ।”
पाटन–पञ्चेश्वर सडकको पाटनदेखि मेलौलीसम्म कालोपत्रे गर्ने कार्य तीन वर्ष अघिदेखि नै जारी छ । अहिले सलेनासम्म सो खण्डको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जोशीले जानकारी दिनुभयो । दिवा चन्द्रा एण्ड वसन्ता जेभीले सो खण्डमा कालोपत्रे गरिरहेको छ ।
सङ्घीय सरकार मातहत रहेको सो सडक सङ्घीय संरचनापछि प्रदेश सरकार मातहत रहेको छ । कोरोना भाइरसका कारण सडक कालोपत्रे गर्न केही ढिलाइ भए पनि निर्माण कार्य भइरहेको जोशीले बताउनुभयो ।
इलाका प्रशासनका सेवा तीन महिनादेखि बन्द
बैतडीको पुर्चौडी नगरपालिका हाटमा रहेको इलाका प्रशासन कार्यालयको सेवा तीन महिनादेखि बन्द रहेको छ । गएको भदौदेखि कर्मचारी अभाव हुँदा इलाका प्रशासनका सम्पूर्ण सेवा बन्द रहेको हो ।
गत भदौमा निमित्त कार्यालय प्रमुखको सरुवा भएदेखि सम्पूर्ण सेवा रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । हाल हाटस्थित इलाका प्रशासन कार्यालयमा दुई जना मात्रै कर्मचारी रहेका छन् । एक नायबसुब्बा र एक कार्यालय सहयोगी मात्रै कार्यरत रहेका छन् ।
उक्त कार्यालयमा एक शाखा अधिकृत, दुई नायबसुब्बा, एक सहलेखापाल, एक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगीको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । जानकारीबिनै निमित्त प्रमुखको सरुवा गरेपछि सेवा दिन नसकिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “प्रमुख नहुँदा निमित्तको भरमा सञ्चालनमा रहेको इलाका प्रशासनमा निमित्तको पनि सरुवा गरिँदा समस्या भएको छ ।”
कर्मचारी नहुँदा सेवा लिन नसकिएको स्थानीय अनिरुद्र जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीवासीले सदरमुकाम धाउनुपरेको छ ।” दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीका नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका कामका लागि फेरि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता भएको छ ।
इलाका प्रशासन कार्यालयमा गएको तीन महिनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका सबै काम रोकिएका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । विसं २०७३ मा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटकपटक कर्मचारीको अभावले सेवा प्रभावित हुँदै आएको छ ।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना खुलेकाले जिल्ला प्रशासनमा हाल नेपाली नागरिकताको प्रमाणपत्र लिनेको सङ्ख्या बढ्दै गएको छ । इलाका प्रशासन कार्यालयमा कर्मचारीको पदपूर्तिका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि अहिलेसम्म कर्मचारी नआएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो । उहाँले भन्नुभयो, “इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव भएको विषयमा गृह मन्त्रालयमा पत्राचार गरिसकेका छौँ तर अहिलेसम्म कर्मचारी पठाइएको छैन ।” साविकका एक दर्जन गाविसका झण्डै ६० हजार नागरिकका लागि २०७३ मा पुर्चौडीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो ।
१३ लाखको अवैध सामान बरामद
बैतडी प्रहरीले भारतबाट भित्र्याइएको रु १३ लाखको अवैध सामान बरामद गरेको जनाएको छ । बन्दाबन्दीको अवधि तथा सीमा नाका बन्द रहेको अवस्थामा हालसम्म अवैधरूपमा भित्रिएको सामान बरामद गरिएको हो ।
सीमा नाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबको सहायतामा भन्सार छली गरी नेपाल भित्र्याइएको १३ लाखको सामान बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो “सीमा नाका बन्द रहेको अवस्थामा प्रहरीले सीमा क्षेत्रमा एम्बुस र नियमित गस्तीका क्रममा उक्त परिमाणमा भारतीय सामान बरामद गरेका हौँ, गएको चैतयता हालसम्म तस्कर गरिरहेका अवस्थामा विभिन्न समयमा गरेर सातपटक प्रहरीले सामान बरामद गरेको छ ।”
बरामद गरिएको सामग्रीमा बढीजसो भारतीय बिँडी, चप्पल, कपडा रहेका जनाइएको छ । प्रहरीले सामानका साथै नौ जना र एक गाडीसमेत नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्ति, जीप र बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट र गड्डाचौकीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
नाका बन्द रहेका बेला तस्करी अझै पनि हुनसक्ने भन्दै प्रहरीले सीमा क्षेत्रमा प्रहरीको गस्ती बढाएको छ । भारतबाट अझै पनि अवैध सामान भित्रिरहेको भन्ने सूचना प्राप्त भइरहेकाले सीमा क्षेत्रमा गस्ती थपेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुुभयो । उहाँले भन्नु्भयो, “नाका बन्द रहेको बेला महाकालीमा ट्युबमार्फत बढीजसो सामान आउने गरेकाले उक्त क्षेत्रमा कडाइ गरेका छौँ ।”