फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनुभन्दा एक हप्ताअघिदेखि नै माग बढेको हो ।
गत वर्षदेखि व्यावसायिकरुपमा सयपत्री फूलको खेती शुरु गर्नुभएको साहित्यकार खगिन्द्रा खुशीको बारीमा यतिबला ढकमक्क कलकत्ते जातको सयपत्री फूल फुलेको छ । भद्रपुर नगरपालिका–७ इलुबारीमा १० कठ्ठा जग्गा भाडामा लिएर उहाँले फूलखेती गर्नुभएको हो । विगतमा सहकारीको साधारसभा, जिल्लामा हुने कार्यक्रममा समेत फूलको माला बेच्दै आउनुभएको उहाँलाई यस वर्ष भने तिहारको माग धान्न मुश्किल छ । “फूल फूलाउनु मात्र पर्दोरहेछ, किन्ने व्यापारी बारीमै आउँछन्”, उहाँले भन्नुभयो ।
विर्तामोड नगरपालिका–४ मा पाँच जना महिला मिलेर १५ कठ्ठा जमीनमा सामूहिक फूलखेती गर्नुभएको छ । गोमा भट्टराई, नैनकला भट्टराई, यशोदा चापागाई, शर्मिला अधिकारी र सुष्मा भण्डारीले लगाएको फूल पनि ढकमक्क फुलेको छ । “तिहारका लागि फूल राखिदिनुप¥यो भन्दै फोन गरेर नाम टिपाउने दैनिक १० देखि १५ जना छन्”, गोमा भट्टाराईले भन्नुभयो, “विगतको तुलनामा खेती कम गरियो माग बढ्यो । माग धान्न समस्या पर्ने भयो । मालाको अडर आइरहेको छ ।”
उहाँले यसपालि लामो समय वर्षा परेका कारण विगतमा जस्तो फूल नफस्टाएको बताउनुभयो । तीन हजारदेखि तीन हजार ५०० सम्म माला हुने अनुमान गर्दै उहाँले रु ५० देखि ६० सम्ममा प्रतिगोटा बिक्री हुने बताउनुभयो । मेचीनगर–९ मा ‘डिएन्डडी बायोप्लान्टेक’ नामक कम्पनी दर्ता गरेर विगत छ वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएका डिल्लीराम उप्रेतीले गत वर्षदेखि १० कट्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती शुरु गर्नुभएको छ ।
विगतमा भन्दा यस वर्ष सयपत्री फूलको मालाको माग बढिरहेको उहाँले बताउनुभयो । “विगतमा भारतीय माला पनि आउथ्यो । यस वर्ष एशोसिएसन अफ नेपाली एग्रीकल्चर जर्नलिस्टले कोभिड–१९ का कारण भारतीय माला नल्याउने निर्णयसँगै हाम्रो फूलको माग बढेको छ”, उहाँले भन्नुभयो, “तर माग धान्न गाह्रो छ ।”
इलाम, मोरङ, सुनसरीलगायतबाट फूलको माग भए पनि आफ्नै जिल्लामा पु¥याउन गाह्रो भइरहेको उहाँले बताउनुभयो । उहाँले विगतमा लक्ष्मीपूजाको दिन फूल टिप्न सयदेखि पाँच सय जनासम्म हुने गरे पनि यस वर्ष कोभिड–१९ का कारण एकपटकमा १० जनाभन्दा बढीलाई बारीमा पस्न नदिने बताउनुभयो । “हामी तिहारमा माला उनेर बेच्न भ्याउँदैनौँ”, उहाँले भन्नुभयो, “बारीमा पसेर उहाँहरु आफैँले टिप्नुहुन्छ । प्रतिथुङ्गा डेढ रुपैयाँ गरेर रकम लिन्छौँ ।” सयपत्री फूलको खेती थोरै लगानीमा धेरै आम्दानी हुने उहाँको बुझाइ छ ।
जिल्लामा सयपत्री फूलको खेतीमा झार र रोगबाट जोगाउन सबै व्यवसायीले मलसिङ प्रविधि प्रयोग गर्नुभएको छ । भुइँमा प्लास्टिक ओच्छ्याएर बिरुवा निस्कनका लागि मात्र दुलो पार्ने नयाँ प्रविधिलाई मलसिङ भनिन्छ । सयपत्री फूलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । एक कट्ठा र दुई कट्ठाका दरले यसको खेती लगाउने झापामा दर्जनौँ किसान छन् । उहाँहरुले फूलको परनिर्भरतालाई हटाउन स्थानीय सरकारले किसानलाई प्रोत्साहनस्वरुप सुलभ कर्जा र अन्य अनुदानमा लगानी बढाउनुपर्ने बताउनुभयो ।