शनिबारदेखि सञ्चालन हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा विभिन्न देशका निर्णायकले खेलाडीको मूल्याङ्कन गर्ने भएका छन् ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत् अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाल सहित भारत, म्यानमा र अस्ट्रेलियाका निर्णायकले खेलाडीको मूल्याङ्कन गर्ने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिनुभयो । उक्त च्याम्पियनसिपमा नेपालका रवीन्द्र मल्ल, भारतका अतुल पानगोत्रा, म्यानमाका अनुक न्यान तथा अस्ट्रेलियाका रियानलले निर्णायकको भूमिका निर्वाह गर्नुहुने छ ।
सो च्याम्पियनसिपमा प्राविधिक टोलीको नेपालका कविराज खड्गीले गर्नुहुने घिसिङले बताउनुभयो । उक्त टोलीलाई राष्ट्रिय निर्णाक बब्लु सिवाकोटी, अर्जुनभक्त राई, राजकुमार लामा, टिकादत्त दाहाल र गोपाल भण्डारीले सहयोग गर्नुहुनेछ ।
दुई दिनसम्म सञ्चालन हुने सो च्याम्पियनसिपमा नेपालसहित १९ देशका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालका एक सय ९० तथा भारत, हङकङ, मलेसिया, श्रीलंका, म्यानमा, मकाउ, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले प्रतिष्पर्धा गर्ने संयोजक घिसिङले जानकारी दिनुभयो ।
प्रतियोगिता युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा हुन लागेको हो । उक्त च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिको उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । महिला र पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको आयोजकले जनाएको छ । छ । रासस