वासिङटन, २० कात्तिक – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजूरी गरेको छ ।
राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट (निर्वाचक प्रतिनिधि) प्राप्त गर्न यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्नु जरुरी देखिएको छ । पछिल्ला मत गणनामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले अग्रता लिन थालेपछि ट्रम्पका तर्फबाट उजूरी गरिएको हो ।
उजूरीमा मतपत्र राखिएका स्थान र मत गणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न ट्रम्पको चुनावी अभियानका तर्फबाट आग्रह गरिएको छ । ट्रम्प अभियानले धाँधलीको आरोप लगाएको मिचिगनको एक चुनावी मत गणना स्थलमा एपीले गरेको अध्ययनमा दुबै पक्षका प्रतिनिधिहरुको रोहबरमा मत गणना भएको देखिएको छ ।
एपीका अनुसार मिचिगनमा डेमोक्रेट पार्टीका जो बाइडेनले विजय हासिल गर्नु भएको छ । यद्यपी यहाँ औपचारिक घोषणा हुन बाँकी छ । नेभादा, पेन्सिलभेनिया र जर्जियामा अझै पनि मत गणना कार्य जारी रहेको र दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको देखिएको छ ।
ट्रम्प अभियानले पेन्सिलभेनियाको मत गणनाको विषयलाई सर्वोच्च अदालतमा पनि चुनौती दिने तयारी गरेको छ । ट्रम्पका उप चुनावी व्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने वा नगर्ने भन्ने विषयले अन्यौल बढाएको छ, र यसको निरुपण अदालतबाट हुनेछ भन्नुभयो ।
राष्ट्रपति ट्रम्पले यही विषयलाई चुनावी प्रचारका क्रममा लगातार उठाउँदै आउनु भएको थियो । उहाँले हुलाकबाट प्राप्त हुने मतपत्रले चुनावमा धाँधली हुने भन्दै आफू सर्वोच्च अदालत जाने बताउनु भएको छ ।
ट्रम्पको चुनावी अभियानले विस्कन्सिन राज्यमा पुनः मत गणनाका लागि आग्रह गर्ने घोषणा पनि गरेको छ । यो राज्यमा एपीको प्रक्षेपण अनुसार जो बाइडेनले विजय हासिल गर्नु भएको छ । ट्रम्पका चुनावी व्यवस्थापक बिल स्टेपियानले विस्कन्सिन राज्यमा धेरै अनियमितता भएको दाबी गर्नु भएको छ तर कहाँ, कसरी धाँधली भए भन्ने बारेमा केही बताउनु भएको छैन ।
बाइडेनले बुधबार नै सबै राज्यमा मत गणना निरन्तर हुने बताउनु भएको छ । उहाँले भन्नुभयो, “हाम्रो लोकतन्त्रलाई कसैले अपहरण गर्न सक्दैन – अहिले मात्र होइन, सधैं ।”
पेन्सिलभेनिया राज्यमा कुनै पनि किसिमको धाँधली वा मतपत्रसँग सम्बन्धित कुनै विषय उठेको समाचार आएका छैनन् । यस राज्यमा ३१ लाखले हुलाकबाट मतदान गरेका थिए । नोभेम्बर ३ भित्र हुलाकमा रजिष्टर भएका मतदाताको मत गणना गर्न सकिने व्यवस्था छ ।
पेन्सिलभेनिका महान्यायाधीवक्ता जस शापिरोले सिएनएनसँगको अन्तर्वार्तामा ट्रम्प अभियानले दिएको निवेदनको कानुनी भन्दा पनि राजनीतिक महत्व मात्र रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, “यस प्रक्रियामा पूर्ण पारदर्शिता छ । मत गणना कार्य जारी छ । प्रतिनिधिहरुले मत गणनाको सम्पूर्ण प्रक्रियालाई अवलोकन गरिरहेका छन्, र मत गणना कार्य जारी रहने छ ।रासस–एपी