प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लास्थित नेपाल चीन सीमाबारे तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न र कूटनीतिक संवादमार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्पmत हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरीलगायतको नेतृत्वले यही असोज प्रथम सातामा स्थलगत अध्ययन गरेको प्रतिवेदन सार्वजनिक नगरेकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सर्लाही घटनाको निन्दा
कांग्रेसले सर्लाहीमा आज आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई घाइते बनाएको जनाउँदै घटनाको निन्दा गरेको छ ।
सर्लाही जिल्ला रामनगर गाउँपालिका–७ निवासी दलित महेन्द्र रामको यही असोज २२ गते भएको हत्या सम्बन्धमा मृतक परिवारको जाहेरी प्रशासनले दर्ता नगरेको भनी आज कांग्रेसले सर्लाहीमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो । सो क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई घाइते बनाएको कांग्रेसले जनाएको छ ।
मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतकका श्रीमती, भाइ एवं अन्य तीन महिलालगायत घाइते भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसले पक्राउ परेका व्यक्तिलाई अविलम्ब रिहाइ गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।