चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको निर्देशनपछि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरेर अध्ययन गर्न लागिएको हो । विज्ञलाई अध्ययनमा सहभागी गराइने छ । निकुञ्जको पश्चिमी क्षेत्रमा बढी गैँडा मरेपछि अध्ययन त्यस क्षेत्रमा केन्द्रित हुनेछ ।
उहाँका अनुसार प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि न्यूनीकरणका लागि गर्न सकिने उपायको खोजी गरिने छ । कहिलेदेखि अध्ययन थाल्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । गत दुई महिना नपुग्दै चोरी शिकारीबाट एउटा र प्राकृतिक कारणबाट सात वटा गैँडा मरेपछि निकुञ्जले अध्ययन गर्न लागेको हो । अघिल्लो आर्थिक वर्षमा पनि ४३ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए भने गत आवमा यो सङ्ख्या २६ रहेको थियो ।
मुख्यरुपमा गैँडा बाढीले बगाएर, दलदलमा फसेर, एक अर्काेसँग जुधेर मर्ने गरेका छन् । बाढीले बगाएका गैँडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ । नदी किनारका मानव निर्मित तटबन्ध पनि बाँधक बन्ने गरेको छन् । नदीले बगाएका गैँडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको उहाँले बताउनुभयो । विभागले यसअघि पनि गैँडाको प्राकृतिक मृत्युदरबारे अध्ययन गरेको थियो ।
निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार चालु आवको साउन २७ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा सात गैँडा प्राकृतिक कारणले र एउटा गैँडा तस्करले मारेका छन् । उहाँका अनुसार साउन २७ गते राप्ती नदी किनारको अन्द्रौलीघाटमा २० वर्षको पोेथी गैँडा मृत फेला परेको थियो । उक्त गैँडा भालेको आक्रमणबाट मृत्यु भएको हो । भदौ ६ गते राप्ती किनारको जोतुवाघाटमा दलदलमा फसेर सात वर्षको पोथीको मृत्यु भएको थियो ।
यस्तै भदौ २१ गते बाँदरझुला टापुमा २५–३० वर्षको भाले गैँडा तस्करले मारेका छन् । उक्त गैँडाको टाउकोमा हतियारले प्रहार गरेको घाउ देखिएको थियो तर खाग, खुर भने सुरक्षित रहेका थिए । असोज १६ गते टापु क्षेत्रको सेरावा घोलमा कुहिएको अवस्थामा वृद्ध गैँडा मृत फेला परेको छ । उक्त गँैडाको लिङ्ग र उमेरसमेत पहिचान हुन नसकेको सूचना अधिकारी रामले जानकारी दिनुभयो ।
यस्तै असोज १७ गते त्रिवेणीस्थित गण्डक नहरमा मृत गैँडा भेटिएको थियो । पैतीस वर्षको उक्त पोथी गैँडा नारायणी नदी पार गर्ने क्रममा नदीले बगाएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी असोज १९ गते एकै दिन दुई गैँडा मृत फेला परेका थिए । एउटा वयस्क पोथी वाल्मीकि गण्डक नहरमा खसेर मरेको थियो । उक्त गैँडालाई नारायणीले बगाएको अनुमान गरिएको छ । अर्काे १०–१२ वर्षको भाले सौराहा क्षेत्रको वनकट्टा घाँसे मैदानमा सोही दिन मृत फेला परेको थियो । भिरालो जमिनमा लडेर उक्त गैँडा मरेको हो ।
असोज २१ गते नारायणी नदी छेउको भेलौजी दलदलमा १५ वर्षको पोथी गैँडा मृत फेला परेको थियो । उक्त गैँडा नारायणी नदीले बगाएको हो । यस अवधिमा मरेका गैँडामध्ये चार वटा बाढीकै कारण मरेका हुन् ।