बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिरा पीडितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ । ढोरपाटनमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२ परिवार र बेपत्ता रहेका १५ परिवार गरि ३७ जनाको परिवारलाई प्रति मृतक÷वेपत्ता ५० हजार रुपैयाँका दरले गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको हो । त्यस्तै गत असार र साउनमा आएका पहिरोमा परी मृत्यु भएका निसीखोला र तमान खोला गाउँपालिकाका ५ परिवारका लागि पनि राहत रकम उपलब्ध गराइएको छ ।
गण्डकी प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले सोमबार पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत रकम प्रदान गर्नुभएको हो । जिल्लाको पश्चिमका ४२ परिवारका लागि प्रदेश सरकारले २१ लाख रुपैयाँ उपलव्ध गराएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनभयो । ढोरपाटनको बोबाङमा पहिरोसँगै आएको बाढीका कारण घरगोठ पुरिँदा बेपत्ता भएका मध्ये २२ जनाको शव फेला परेको थियो भने १५ जना अझै बेपत्ता छन् । राहत रकम प्रदान गर्दै मन्त्री चुमानले विपद्को सामना गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । ढोरपाटनले मृतक र बेपत्ताको तथ्यांक समयमा उपलब्ध गराउन नसकेका कारण पीडितलाई राहत वितरणमा ढिलाई भएको थियो । ढोरपाटनमा पुनस्थापनाको लागि प्रदेश सरकारले आवश्यक काम थालिसकेको जनाउँदै उहाँले स्थानीयसँग मिलेर बस्ति बसाउने काममा लाग्ने बताउनुभयो । ढोरपाटनमा बाढीपहिरोमा १ सय ३० घर विस्थापित भएका छन् ।
पहिरा पीडित बालकलाई सहयोग
गत भदौ २९ गतेको पहिरोले घर पुरिएर आफन्तसँग बस्दै आएका जैमिनी नगरपालिका १ कुश्मीशेरा टुनिबोटका एक बालकलाई दक्षिण कोरियामा रहेका युवाले सहयोग गरेका छन् । पहिरोले घर पुरिएपछि आमासँगै मामा घरमा बस्दै आएका बिस्मात क्षेत्रीलाई ती युवाल पढाइ खर्च उपलब्ध गराएका हुन् ।
पहिरो पीडितका लागि दक्षिण कोरियामा सङ्कलन गरिएको राहत रकमबाट १५ हजार रुपैयाँ पीडित बालकको पठनपाठनमा सहयोग पु¥याउने गरी पठाइएको अभियान्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । पहिरोले घरगोठ पुरिएपछि उनी बेसहारा बनेका छन् । अन्यत्र घर बनाउने जग्गासमेत नरहेकाले क्षेत्री परिवार समस्यामा परेको छ । उनका हजुरवुवा र काकाको घरसमेत पहिरोले पुरेको छ । क्षेत्रीले कक्षा ११ मा पढ्छन् ।
रोजगारीको सिलसिलामा कोरियामा रहेका युवाहरुले पहिरो पीडितहरुका लागि राहत रकम पठाएका थिए । उनीहरुले पठाएको २ लाख १३ हजार रुपैयाँमध्ये मृत्यु भएकाका दुई परिवारको लागि ६० हजार र घरगोठ पुरिएर विस्थापित भएका ७ परिवारलाई २३ हजार रुपैयाँका दरले राहत रकम उपलव्ध गराईएको छ । राहत रकम वितरण गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले वैदेशिक रोजगारीमा रहेका युवाहरुले देखाएको मातृ ममता प्रशंसनीय रहेको बताउनुभयो । दक्षिण कोरियामा सोही गाउँबाट रोजगारीका लागि पुगेका सन्तोष पौडेल, दयाराम पौडेल र जीवन चपागाईले राहत सङ्कलनको अगुवाइ गर्नुभएको थियो ।
राप्रपा अध्यक्षमा खड्का
राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का चयन हुनुभएको छ । राप्रपा र राप्रपा संयुक्तको एकीकरण समायोजन बैठकले उहाँलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
सोमबार सम्पन्न एकीकरण बैठकले दुवै तर्फका पदाधिकारी मध्येबाट समायोजन गराएको हो । सदस्यमा भने दुवै पार्टीका जिल्ला सदस्यहरु यथावत् रहने व्यवस्था निर्णय गरेका छ । एकीकरण बैठकले सह अध्यक्षमा शैलेन्द्र कुमार श्रेष्ठलाइ तोकेको छ । यस अघि राप्रपाको अध्यक्ष खड्का र राप्रपा संयुक्तको अध्यक्ष श्रेष्ठ हुनुहुन्थ्यो ।
बैठकले उपाध्यक्षमा मनबहादुर घर्ती र नबिनचन्द्र सर्बुजा तथा सचिवमा बिष्णुप्रसाद सापकोटालाई चयन गरेको छ । सहसचिवमा पार्वती शर्मा र कोषाध्यक्षमा जयलाल सापकोटा रहनुभएको छ । केही समय अघि केन्द्र देखि जिल्ला सम्म पार्टी एकीकरण गर्ने घोषणा भएको थियो । पार्टीलाई एक बनाएर लैजानका लागि बैठक मार्फत जिल्ला कार्यसमिति गठन गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।