लामो समयको रस्साकस्सीपछि अन्ततः नेपालगञ्ज उपमहानगरपालिकाको एकलैनी बजार क्षेत्र विस्तारको काम शुरुआत गरिएको छ । दुई दशक पुरानो एकलैनी बिस्तार योजना कहिले बजेट अभाव तथा कहिले स्थानीयको अवरोधका कारण अघि बढ्न सकेको थिएन । स्थानीय वडा कार्यालयहरुको समन्वयमा स्थानीयलाई सहमतिमा लिएर विस्तारको काम शुरु गरिएको उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिनुभयो ।
उक्त बजार क्षेत्रमा दुई छेउ नालासहितको सात मिटरको पक्की सडक निर्माणको काम शुरुआत गरिएको र दुई महिनाभित्र सक्ने योजना नगरपालिकाले तय गरेको छ । नाला र सडक निर्माणका लागि उपमहानगरपालिकाको आन्तरिक कोषवाट झण्डै रु २२ करोड छुट्याइएको उहाँले बताउनुभयो ।
स्थानीय तहमा जनप्रतिनिधि आएर काम गर्न लागेको तीन बर्ष पुग्न लाग्दा समेत विवादका कारण एकलैनी बजार क्षेत्र विस्तार योजनाको काम अघि बढन् सकेको थिएन । नेपालगन्ज—३ का वडाध्यक्ष मोहम्मदआयुब सिद्दीकीले भन्नुभयो,“लामो समयको खिचातानीपछि अहिले एकलैनी क्षेत्रका स्थानीयहरु घर भत्काउन सहमत भएका छन् । ”
नेपालगञ्ज सानो हुँदा सबै कारोबार एकलैनी बजारबाट हुने गथ्र्यौ । समय क्रमसंगै नेपालगन्जले आकार लिदै गएपनि यो क्षेत्र भने खुम्चिएकै स्वरुपमा छ । मोटर जान नसक्ने तीन मिटरभन्दा सानो वाटो, अव्यवस्थित पसल, फोहरमैला विसर्जनका लागि स्थान अभावको लगायत साँघुरोपनको अवस्था एकलैनीले बर्षौदेखि भोग्दै आएको छ । बजार विस्तार हुन नसक्दा यो क्षेत्रवाट श्रृंगार र दैनिक उपभोग्य बस्तुको पसल बाहेक अन्य पसलहरु विस्तारित क्षेत्रमा सर्दै गएका छन् । “आप्mनो बजार क्षेत्रमा कारोबार नै नहुने अवस्था देखिएपछि त्यहाका स्थानीय बाध्य भएर सहमतिमा आएका हुन् । ”नगर प्रमुख राणाले भन्नुभयो ।यसका साथै एकलैनी विस्तारका लागि अहिले चारैतिरबाट दबाब बढ्दै गएको थियो । झण्डै पाँचहजार घरधुरीको बसोबास रहेको यो बजार क्षेत्रमा योजना अन्तर्गत चौडा सडक र नाला निर्माण हुने योजना रहेको नगर प्रमुख राणाले बताउनु भयो ।
बाँके र बर्दियामा आठ सय बढी घर निर्माण हुने
बाँके र बर्दियामा प्रदेश ५ सरकारले जनता आवास कार्यक्रम अन्तर्गत अति विपन्न तथा गरिबीको रेखामुनी रहेका परिवारका लागि ८०६ घर निर्माण गर्ने भएको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय बाँकेमार्फत घर निर्माण हुने जनाइएको छ । शहरी विकास तथा भवन कार्यालय बाँकेका निमित्त प्रमुख इन्जिनीयर रामआश्रय शाहले भन्नुृभयो, “चालू आबमा बाँकेमा ३९६ र बर्दियामा ४०९ गरी ८०६ घर निर्माण हुनेछ”घर नभएका र झुप्रोमा बस्दै आएका यी दुई जिल्लाका अति विपन्न, दलित, मुस्लिम, पिछडा वर्ग तथा सीमान्तकृतलाई लक्षित गरेर सञ्चालन गरिएको जनता आवास कार्यक्रमबाट प्रत्येक परिवारका लागि दुई कोठा, एक भान्सा, बरण्डा र शौचालयसहितको घर निर्माण गरिने जनाइएको छ ।
उहाँका अनुसार संघीय सरकारको सशर्त अनुदानमार्फत प्रदेश नं. ५ सरकारले जनता आवास कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रम अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका वडा नं १२ को सुन्दर बस्तीका ४६ जना विपन्न, दलित तथा सीमान्तकृत समुदायका लागि निर्माण गरिएको पक्की घर हस्तान्तरणको क्रममा रहेको छ । कोभिड–१९ को सङ्क्रमण फैलने त्रासको कारण प्राविधिक फिल्डमा जानलाई समस्या भएकोले कार्य मुल्याङ्कन गरी सेवाग्राहीको किस्ता पठाउन केही कठिनाई भएको कार्यालय प्रमुख शाहको भनाइ छ ।
जनता आवास कार्यक्रममा छनौट भएका सेवाग्राहीले रु तीन लाख ५० हजार प्रति घरवापत पाउने भएपनि कन्टिजेन्सीवापत चार प्रतिशत काटेर रु तीन लाख ३६ हजार सेवाग्राहीको खातामा चार किस्तामा कामको प्रगतिको आधारमा रकम जाने व्यवस्था मिलाइएको छ । सेवाग्राहीले कूल रकमको १० प्रतिशतको लगानी वा श्रमदान गर्नुपर्ने प्रावधान समेत रहेको कार्यालयले जनाएको छ ।