पाटन दरबार स्क्वायरस्थित व्यापारीको आराध्य देवता मानिने भीमसेन मन्दिर पुनःनिर्माणको काममध्ये पहिलो तला सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्प र पटकपटकको परकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने थाम, दलिन र बिम भाँचिएर भित्तासमेत चिराचिरा भएका थिए ।
निर्माणाधी मन्दिरमा भुइँ तलाको काम सकिएर पहिलो तलाको करीब सकिएको ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको यस मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि कसैले चासो नदेखाएपछि मन्दिर पुनःनिर्माणमा स्थायनीयवासी आफैँ जुट्यौँ । गत वर्ष असार १२ गते गाईको पुच्छरमा डोरी बाँधेर गजूर निकाली भत्काउन थालियो । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड महामारीका कारण गत वर्ष चैतदेखि असारसम्म मन्दिर निर्माणको काम भने रोक्न बाध्य भइयो ।” मन्दिर पुनःनिर्माणमा भक्तपुरका मानिस कामदारका रुपमा खटिएका हुँदा बन्दाबन्दीको चार महीना लामो अवधिमा सोचेअनुरुपको काम अघि बढाउन नसकिएको महर्जनले गुनासो गर्नुभयो ।
मन्दिर भत्काउन शुरु गरेको दुई वर्षमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए तापनि नसकिने भएको महर्जनको भनाइ छ । “मन्दिरमा प्रयोग भएका काठपातमध्येका केही बाहिरबाट हेर्दा राम्रो देखिए तापनि भित्रभित्रै कीरा लागेर फेर्र्नुुपर्दा यसमा पनि समय खर्च भयो”, उहाँले थप्नुभयो, “हाल दैनिक २० दक्ष जनशक्तिले धमाधम मन्दिर पुनःनिर्माणको काम गरिरहेका छन् ।”
“हाम्रो सम्पदा हामी आफैँ बनाऔँ” भन्ने नाराका साथ भीमसेन मन्दिर पुनःनिर्माणमा स्थानीय जनता अघि बढेपछि विभिन्न सांस्थामा आबद्ध दाताले चन्दा दिने क्रम बढिरहेको छ । सो मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएकामा अब सम्भवतः केही रकम थप हुने भएको महर्जनले जानकारी गराउनुभयो ।
उक्त मन्दिर परिसरबाट आवतजावत गर्ने हजारौँ स्वेदेशी र विदेशीलाई नोक्सानी पुग्ने डरका कारण मन्दिर पुनःनिर्माणमा ललितपुरवासी अग्रसर भएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी गराउनुभयो ।
मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तु रेखदेखको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा छ । चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन समयको भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोेहरका रुपमा प्यागोडा शैलीमा निर्माण भएको थियो ।
मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्टले लिएको छ राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौंँ भ्याली प्रिजर्भेशन ट्रष्ट, मङ्गल टोल सुधार समिति, ललितपुरभरिका जातीय समाजलगायत विभिन्न सङ्घसंस्था समेत लागिपरेका छन् ।