‘पर्यटन र ग्रामीण विकास’को नारासहित विश्वभरि नै सीमित खालका कार्यक्रम गरी आज विश्व पर्यटन दिवस मनाइँदै छ ।
विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत रहेको छ भने करीब ११ लाख रोजगारी सृजना गरेको सरकारको दाबी छ ।आर्थिक विकासमा उल्लेख्य भूमिका र योगदान रहेको पर्यटन क्षेत्रले नेपालमा पनि सामान्य कार्यक्रम आयोजना गरि मनाउँदै छ ।
कोभिड–१९ महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममुखी भूमिका खेल्न सार्वजनिक निजी साझेदारीको अवधारणाबमोजिम पर्यटन पुनरुत्थान कार्यदल नेपालको औपचारिक आरम्भ गरिएको छ ।नेपालमा विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सरकार तथा निजीक्षेत्रको साझेदारीमा पर्यटनलाई चलायमान बनाउने अभिप्रायले टास्क फोर्स गठन गरी शनिवार पर्यटन पुनरुत्थान अभियान आरम्भ गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनरुत्थान कार्यदलले आन्तरिक पर्यटनलाई चलायमान बनाउने पर्यटकीय गतिविधि सार्वजनिक गरेको हो । ‘पर्यटनका लागि हाम्रो देश, घुमौं देश, चिनौं परिवेश’ भन्ने मूल नाराका साथ अभियानको लोगो, सन्देशमूलक भिडियोलगायत सामग्री समेत सार्वजनिक गरिएको छ । सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको समन्वय तथा सहकार्यमा अभियान शुरू गरिएको हो ।
पर्यटन पुनरुत्थानका लागि देश दर्शन कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड महामारीका कारण थलिएको पर्यटनलाई गतिशील बनाउन प्रयास गरेको बताउनुुभयो ।कार्यदलले पर्यटन क्षेत्रका नीतिनिर्माताहरू, सरोकारवाला निकायहरूबीच परिणाममुखी समन्वय स्थापना गराउन तथा स्रोत बजारका टुर अपरेटर्स एवम् सम्भाव्य पर्यटकहरूबीच विश्वसनीय तथा प्रभावकारी सञ्चार गर्ने कार्यमा केन्द्रित रहने गरी कार्यक्रम तथा गतिविधिहरू गर्ने बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले महामारीबाट बचेर पर्यटनका गतिविधि बढाउन सरकारले हवाई उडान, होटेल तथा रेस्टुराँ व्यवसाय, पदयात्रा, पर्वतारोहणजस्ता पर्यटकीय क्षेत्रलाई खुला गरिसकेको र यो कार्यक्रमले पर्यटनलाई थप चलायमान बनाउने अपेक्षा गर्नुुभयो ।उहाँले कोभिडपछि नियमित उडान गर्नेमा नेपाल दक्षिण एशियामै पहिलो मुलुक भएको दाबी गर्दै अन्तरराष्ट्रिय पर्यटकलाई नेपाल ल्याउने वातावरण बनाइने जानकारी दिनुुभयो ।
पर्यटनमन्त्री भट्टराईले कोरोना महामारीको जोखिम कम भइनसकेको तर यसबाट भागेर नभई जुधेर सबै एकताबद्ध भई साझा अभियानलाई सार्थक बनाउनुपर्नेमा जोड दिनुुभयो । सरकारले अक्टोबर १ तारीखदेखि अन्तरराष्ट्रिय उडान संख्या बढाउने निर्णय गरिसकेकाले अन्तरराष्ट्रिय पर्यटकको आगमनलाई सहज बनाउन छिट्टै थप निर्णय गरिने बताउनुुभयो ।