कोरोना भाइरस सङ्क्रमणको त्राससँगै म्याग्दीमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै गएको छ ।
जिल्लामा हालसम्म ३८ जनामा स्क्रब टाइफस र ७४ जनामा डेंगुको सङ्क्रमण देखिएको हो । सबैभन्दा बढी मङ्गला गाउँपालिकाकामा ३० जनामा डेंगुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी रघुगङ्गामा छ, अन्नपूर्णमा चार, मालिकामा तीन र धवलागिरी गाउँपालिकामा दुई तथा बेनी नगरपालिकामा २९ जनामा डेंगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
उहाँले जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणको समस्या देखिएपछि बिरामीको नमूना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा डेंगु नै पुष्टि भएको जानकारी दिनुभयो ।
जीउ दुख्नु, उच्च ज्वरो आउनु, आँखाका गेडी दुख्नु, मांसपेशी तथा हाडजोर्नी दुख्नु, झाडापखाला लाग्नु र वान्ता आउनु डेंगुका लक्षण हुन् । डेंगु भाइरसले सङ्क्रमित लामखुट्टेले टोकेको तीन देखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिन सक्छ । बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले भन्नुभयो, “सरसफाइमा ध्यान दिने, लामखुट्टेको बासस्थान र लामखुट्टेको लार्भा नष्ट गर्नु नै डेंगुबाट जोगिने प्रमुख उपाय हो ।”
बढ्दो गर्मी तथा पानी परेपछि म्याग्दीमा डेंगु रोगका बिरामीहरु बढ्दै गएका हुन् । डेंगु सङ्क्रमित बढेपछि यो जिल्ला उच्च जोखिममा परेको छ । एडिज एजिप्टाई नामक पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगु रोग सार्ने गर्दछ । यसबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, धेरै भीडभाडमा नजाने, सुत्ने बेलाको समयमा झुलको प्रयोग गर्ने र समुदायस्तरमा सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने डा. घिमिरेको भनाइ छ ।
के हो स्क्रब टाइफस ?
मुसामा देखिने किर्नाजस्तो किराले टोकेमा यो रोग मानिसमा सर्ने गरेको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार जीवजन्तुबाट घाँसपात तथा झारमा झरेको किर्ना मानिसमा सर्ने र त्यसले टोकेमा यो रोग सर्ने गर्छ । शुरुकै अवस्थामा यो रोगको उपचार गरिए सामान्य औषधिले निको हुन्छ । रगतमा यसको सङ्क्रमणको मात्रा बढ्दै गएपछि यसले मिर्गाैला र कलेजोमा प्रभाव पार्छ भने श्वासप्रश्वासमा पनि समस्या देखिन्छ । यसको उपचारमा ढिलो भयो भने बिरामीको ज्यान जान सक्ने सम्भावना बढी हुन्छ ।
स्क्रब टाइफस हुँदा धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखा रातो हुने, झाडापखला लाग्ने, शरीरमा दाद देखिने, शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्ने र कडाखालको श्वासप्रश्वास समस्या देखिन्छ । हालसम्म जिल्लामा सबैभन्दा बढी बेनी नगरपालिकामा १८ जनामा स्क्रब टाइफसको सङक्रमण देखिएको छ । त्यस्तै रघुगङ्गा दुई, अन्नपूर्णमा तीन, मङ्गलामा ११, मालिकामा तीन र धवलागिरि गाउँपालिकामा एक जनामा स्क्रब टाइफसका बिरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
“कोरोना सङ्क्रमणको जोखिमसँगै जिल्लामा अहिले डेंगु र स्क्रब टाइफसको जोखिम पनि देखिएको छ, यसको रोकथाम र नियन्त्रण गर्न सबै स्थानीय तहलाई आग्रह गरेका छौँ”, बेनी अस्पताल विकास समिति म्याग्दीका अध्यक्ष बेलबादुर कटुवालले भन्नुभयो । उहाँका अनुसार अस्पतालमा स्क्रब टाइफस जाँच गर्ने किट सकिएको छ । प्रदेश सरकारलाई ताकेता गरिएको भएपनि अझैसम्म किट पाउन नसकिएकाले बिरामीलाई समस्या भइरहेको उहाँको भनाइ छ ।