तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले २०७३ साल भदौ २९ गते कुलमानलाई प्राधिकरणमा नियुक्त गरेका थिए । सोअनुसार ४ वर्षे कार्यकाल आइतबार सकिएका कुलमानलाई सरकारले पुनः नियुक्ति दिनुपर्ने दवाव चौतर्फि भएपनि आजै बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई दोस्रो कार्यकालका लागि पनि उक्त पदमा पुनःनियुक्त गर्ने अनुमान गरिएको थियो।
सत्तारुढ दलकै प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सार्वजनिक रुपमा कुलमानलाई दोस्रो पटक सरकारले नियुक्त गर्ने विश्वास सामाजिक सञ्चालमार्फत व्यक्त गरेका थिए।
‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुन:नियुक्ति हुनेछ भन्नेमा विस्वस्त छु’, श्रेष्ठले ट्विटरमा लेखेका छन्।
तर सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कुलमानबारे कुुनै निर्णय गरेन। श्रोतका अनुसार उर्जा मन्त्रालयबाट विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव मन्त्रिपरिषदमा लगिएको थिएन ।
कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्तीको माग गर्दै सोमबार साँझ माइतीघरमा प्रदर्शन समेत भएको थियो।
आज बसेको बैठकले बदिर्याबाट प्रतिनिधिसभामा पराजित नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय भने गरेको छ।
सत्तारुढ नेकपाको निर्णयअनुसार राष्ट्रियसभाको रिक्त एक सिटमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय सरकारले गरेको हो।२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका थिए।