भोलिदेखि उपत्यकामा फुटपाथ पसल तथा ठेला पसलहरु खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार बसेको सामूहिक बैठकले बिहान ११ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म पसल खोल्न निर्णय गरेको हो । साथै बारअनुसार अन्य पसलहरु पनि संचालन गर्न पाइनेछ । सपिङ मलहरू, कपडा, जुत्ताचप्पल पसलहरू, कस्मेटिक, फेन्सी स्टोर साताको तीन दिन मात्रै खुल्नेछन् । त्यस्ता पसल सोमबार, बुधबार र शनिबार खुल्ने छन्।
अत्यावश्यक सेवामध्ये खाद्यवस्तु, दुध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री वितरणमा समय तोकिएको छ । पसल हरेक दिन बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न दिइने छ । यसअघि बिहान ११ बजेसम्म मात्र खोल्न दिइँदै आएको थियो । इलेक्ट्रीक र स्टेशनरी पसल हरेक दिन बिहान ११ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म खोल्न पाइनेछ। भाँडा र भान्साजन्य पसल आइतबार, मंगलबार र शुक्रबार खोल्न पाइनेछ।
निर्माण सामग्रीका पसल, निर्माण सामग्री ढुंगा, बालुवा, सिमेन्ट, रड, डन्डीलगायत बोक्ने ट्रक, टिपरहरूलाई यसअघि नै सञ्चालन हुन दिइएको थियो। यस्ता पसल तथा ढुवानीकाे काम हरेक दिन दिउँसाे २ देखि ७ बजेसम्म गर्न पाइने छ । फर्निचर र अटोमोबाइल सम्वन्धी पसल सोमबार र बुधबार खोल्न पाइनेछ। सवारीसाधन मर्मत गर्ने वर्कसप हरेक दिन बिहान ८ देखि साँझ ८ बजेसम्म खोल्न पाइनेछ । अब टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन सकिने छ। त्यसका लागि स्वास्थ्य मापदण्ड पालना गरेर मध्याह्न १२ देखि बेलुका ७ बजेसम्म खुला गरिएको छ।