विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् ।
बिहीबार राति जुठा र नेपाने बीचमा पर्ने लेखटोलमा हावाहुरीका कारण विद्युत्का मिटरबक्स, कालो तार नोक्सान भएको स्थानीय बासिन्दा तथा वडा सदस्य रुपक पुनले बताउनुभयो । विद्युत् नहुँदा बस्ती नै अँध्यारोमा रहेको पुनले बताउनुभयो । विद्युत् नहुँदा मोबाइल, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालको प्रयोग गर्नबाट स्थानीय बासिन्दा वञ्चित भएका छन् । वडासचिव हुमबहादुर कँुवरले २३ घरका विद्युत् मिटरबक्स र ७० घरका कालोतार जलेर क्षति भएको बताउनुभयो । क्षतिको विवरण अझै बढ्नसक्ने बताइएको छ ।
गाउँपालिका अध्यक्ष रामबहादुर कार्की क्षतिग्रस्त क्षेत्र पटुवाचोर, खुनधारा र नेपानेलगायतका बस्तीका पिडीतलाई कालोतार र विद्युत् मिटरबक्स पठाउने गरी काम भइरहेको बताउनुभयो । कालोतार गाउँपालिकाको सहयोगमा पठाइने हो भने विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रले मिटरबक्स निःशुल्क सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।
शुक्रबार विद्युत् चुहिँदा रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको खुनधारास्थित २६ वर्षीया दिलकुमारी रास्कोटी पुनको मृत्यु भएको थियो । रास्कोटी मगर तीजमा माइती आएकी थिइन् । हावाहुरीसहित गाउँभर विद्युत् चुहिएर करेन्ट लाग्दा रास्कोटी घाइते बनेपछि उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन असपताल तानसेनमा मृत्यु भएको थियो । मृतकका बुबा इमानसिंह पुन र झमानसिंह जोगी कँुवर घाइते भएका थिए । पुनको तानसेनमा उपचार भइरहेको छ ।
स्थानीय बासिन्दा वीरबहादुर नेपालीको एउटा भैँसी मरेको छ । विद्युत् आपूर्तिमा समस्या देखिएपछि तीजका अवसरमा आफन्तसँग कुराकानी गर्न समेत पाएनन् । जुठापौवामा अधिकांश मगर जातिको बस्ती छ । यहाँका मगरले तीज विशेष पर्वका रूपमा मनाउने गरे पनि यस वर्ष विद्युत् चुहिएर मानवीय क्षति हुँदा बस्ती नै पीडामा छ ।