तनहुँको बन्दीपुर गाउँपालिकामा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको रु एक करोड लगानीमा बन्दीपुर गाउँपालिका–१ नाहालामा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको हो ।
जेठदेखि निर्माण शुरु भएको भवनको पहिलो तल्लाको ढलान गर्न बाँकी छ । कोरोना कहरका कारण भवन निर्माणमा ढिलाइ भएको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो । “कोभिड–१९ को सङ्कट नभएको भए यतिबेलासम्म धेरै काम अगाडि बढिसक्थ्यो तर चालु आर्थिक वर्षभित्रै भवन निर्माणको सम्पूर्ण काम सम्पन्न हुन्छ,” उहाँले भन्नुभयो ।
भवनमा छ कोठा हुनेछन् भने शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष लागि अर्को भवन निर्माण हुने जनाइएको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरीनरी अस्पताल अति आवश्यकता थियो । “पशुको उपचार गराउनुप¥यो भने सदरमुकाम दमौली लैजानुपर्ने बाध्यता छ, यही अस्पताल निर्माण भएपछि कृषकले सहज रुपमा आफ्नै ठाउँमा सेवा पाउनेछन्,” पोख्रेलले भन्नुभयो ।
यस अस्पतालमा पशु चिकित्सकको दरवन्दीमा कर्मचारी खटिनेछन् । त्यसको सम्पूर्ण व्यवस्थापन प्रदेश सरकारले गर्नेछ । भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले रु एक रोपनी जग्गा गाउँपालिकालाई दान गर्नुभएको थियो । गाउँपालिकाको पशुपंक्षी शाखाको नाममा करीब रु ७५ लाख मूल्यबराबरको जग्गा दान गर्नुभएको थियो । वडाध्यक्ष पोख्रेलका अनुसार धेरै पहिलादेखि नै भेटेरीनरी अस्पताल निर्माणका लागि पहल भएपनि जग्गा नहुँदा काम अगाडि बढ्न सकेको थिएन ।
बन्दीपुरमा एक हप्ता लम्बियो बन्दाबन्दी
बन्दीपुर गाउँपालिकाले बन्दाबन्दी थप एक हप्ता लम्ब्याएको छ । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेकाले गाउँपालिकाले भदौ ६ गते शनिबारदेखि १२ गतेसम्मलाई बन्दाबन्दी लम्ब्याएको हो ।
गाउँपालिकाले यस अगाडि साउन ३० गतेदेखि भदौ ५ गतेसम्मलाई बन्दाबन्दी गरेको थियो । कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट नआइसकेकाले एक हप्ता बन्दाबन्दी लम्ब्याइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।
बन्दीपुर गाउँपालिका वडा नं १, ४ र ५ अन्तर्गतका बजार तथा राजमार्ग क्षेत्रभित्र औषधिजन्य स्वास्थ्य सेवा, बैङ्कका एटिम सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न, बन्दीपुर गाउँपालिकाका अन्य वडा र बन्दीपुर बजार क्षेत्रमा यातायातका साधन पूर्णरुपमा बन्द गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिकाले यस अगाडि एक हप्ता गरेको लकडाउन प्रभावकारी बनाउन सहयोग पु¥याउने सङ्घसंस्था, व्यापारी, बैङ्क तथा वित्तीय संस्था, सञ्चारमाध्यम, आम जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दै थप एक हप्ताको लकडाउनलाई पनि पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको छ ।