कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्न विराटनगर महानगरपालिकालाई यहाँका उद्योगी एवं समाजसेवी राजेन्द्र राउतले रु सात लाख सहयोग गर्नुभएको छ । समाजसेवी राउतले आज उक्त रकमको चेक विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तानान्तरण गर्नुभयो । यसअघि पनि उहाँले प्रदेश नं १ को सरकारलाई पीसीआर मेसिन खरिद गर्नका लागि रु। ११ लाख प्रदान गरिसक्नुभएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि समाजसेवी राउतले यहाँका विभिन्न स्थानीय तहमा पनि सहयोग गर्दै आएको बताइएको छ ।
पछिल्लो समय विराटनगर महानगरपालिका र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । सङ्क्रमण बढेसँगै कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिदका लागि महानगरपालिकामाथि दबाब बढ्दै गएको छ । यसअघि पीसीआर मेसिन खरिदका लागि महानगरपालिकाका प्रमुख पराजुलीले आफूले पाउने एक वर्षको सेवा सुविधाबापत रु।सात लाख प्रदान गर्ने घोषणा गर्नुभएको थियो । योसँगै मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले पनि निजी क्षेत्रको सहयोगमा सङ्घले रु।१० लाख सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
सो अवसरमा महानगरपालिकाका प्रमुख पराजुलीले कोरोना जस्तो महामारीलाई फैलिनबाट रोक्न सबैले मिलेर लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एक्लैको प्रयास र श्रोतबाट यो महामारीलाई निर्मूल पार्न नसकिने हुँदा सबैको सहयोग र समन्वय आवश्यक छ ।” विराटनगर महानगरपालिका र आसपासका क्षेत्रमा द्रूत गतिमा फैलिन लागेको कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्न नगरवासीले दवाव दिँदै आएको अवस्थामा निजी तहबाट हुन लागेको सहयोगले कोरोना सङ्क्रमण रोकथाममा सहयोग पुग्ने विश्वास प्रमुख पराजुलीको छ । प्रमुख पराजुलीको प्रेस सल्लाहकार कौशल निरौलाले महानगरपालिकाले छिट्टै नै पीसीआर मेसिन खरिद गर्ने र सो मेसिनको सञ्चालन गर्ने जिम्मेवारी कोशी अस्पताललाई दिने जानकारी दिनुभयो ।
प्रदेश १ मा थप ८९ जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिएका मध्ये ३७ महिला र ५२ पुरुष छन् । योसँगै प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ४८६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ २ गते देखि आजसम्म यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३९३ पुगेको छ । भदौ २ गते १३९, ३ गते १२३, ४ गते ४२ र आज ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो प्रदेशमा भदौं २ गतेदेखि आजसम्म पीसीआर विधिबाट आठ हजार १४४ जनाको परीक्षण गरिएका छन् । भदौ २ गते दुई हजार ६३१, ३ गते एक हजार ९४१, ४ गते एक हजार ५०७ र आज दुई हजार ६५ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यो प्रदेशअन्तर्गत मोरङमा ४४, सुनसरीमा २९, झापामा सात, इलाममा चार, पाँचथर र उदयपुरमा एक÷एक जना र यस प्रदेश बाहिरका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १३ महिला र १६ पुरुष छन् । मोरङमा कोरोना देखिनेमा कटहरीमा पाँच महिला एक पुरुष, सुन्दरहरैचामा तीन महिला तीन पुरुष, धनपालथानमा दुई र सुनबर्षीमा एक पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार जिल्ला बाहिर सुनसरीको दुहवीमा दुई महिला १२ पुरुष, इटहरीमा एक महिला चार पुरुष, बर्जुमा दुई महिला दुई पुरुष, देवानगञ्जमा एक पुरुष, कोशी गाउँपालिकामा एक पुरुष, धरान, इनरुवा, गढी र बराहक्षेत्रमा एक÷एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । झापाको मेचीनगरमा तीन महिला, एक पुरुष, विर्तामोडमा एक महिला, एक पुरुष, दमकमा एक पुरुष, इलामको सन्दकपुरमा दुई महिला, दुई पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा एक÷एक पुरुषमा तथा प्रदेश बाहिर सर्लाहीका दुई महिला र सिरहाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आज ६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । घर फर्किनेमा पूर्वाञ्चल विश्वविद्यालय कोभिड— १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ४९, वीजनरल अस्पताल हरिनगर सुनसरीबाट १३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सात जना छन् । घर फर्किनेमा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका तीन र धनकुटाका एक जना छन् । प्रदेश नं १ मा आजसम्म एक हजार २२४ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ७५ हजार ६१८ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।रासस