मनमोहन प्राविधिक विशवविद्यालयलाई विराटनगर –१४ स्थित विराट क्याम्पसको शैक्षिक कार्यक्रम, सम्पत्ति र दायित्व आज हस्तान्तरण गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयमा आज आयोजित कार्यक्रममा क्याम्पसका अध्यक्ष भूराज राईले करीब रु ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवासश्री पोखरेललाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा विश्वविद्यालयका सहकुलपति तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले क्याम्पसको विगतको शैक्षिक उचाइलाई कायम राखी विश्वविद्यालयले कार्यक्रम सञ्चालन गर्ने बताउँदै पाठ्यक्रम तयारीमा रहेको र शैक्षिक कार्यक्रम सञ्चालन गर्न एकदेखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकार र विश्वविद्यालयले सीप प्रशिक्षण केन्द्र शुरु गर्ने जानकारी दिनुभयो ।
विश्वविद्यालयका प्रमुख पोखरेलले विराट क्याम्पसको लक्ष्य पूरा गर्न यस क्षेत्रमा शैक्षिक विकासका कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विराट क्याम्पसका अध्यक्ष भूराज राईले शिक्षामा योगदान दिन नाफारहित उद्देश्यले विसं २०४८ मा स्थापित क्यापसको भावनानुरुप विश्वविद्यालयलाई योगदान पु¥याउन आग्रह गर्नुभयो । विराटनगर–१४ स्थित क्याम्पसका नाममा १५ कठ्ठा १० धुर जग्गामा दुईतले भवन छ ।
पिसिआर परीक्षणको दायरा वृद्धि गरिने
सामाजिक विकासमन्त्री घिमिरेले पिसिआर टेष्टको दायरा विराटनगरमा वृद्धि गरिने बताउनुभएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्र सेवा विस्तारसम्बन्धी पत्रकार सम्मेलनमा उहाँले यस क्षेत्रमा सङ्क्रमण वृद्धि भएकाले कन्टयाक ट्रेसिङका आधारमा परीक्षण वृद्धि गरिने जानकारी दिनु भयो ।
उहाँका अनुसार कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्र विराटनगरलाई लेवल –२ रुपमा विस्तार शुरु गरिएको छ । केन्द्रमा १० सघन उपचार कक्ष, दुई फिक्स्ड र तीन पोर्टेबलसहित पाँच भेन्टिलेर तयारी अवस्थामा छ ।
उहाँले लक्षण देखिएका बिरामीलाई उपचार केन्द्र र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा राखिने बताउँदै झापा, मोरङ र सुनसरीमा स्थानीयस्तरमा आइसोलेशन सङ्ख्या वृद्धि गरी लक्षण नदेखिएका बिरामीलाई सोही स्थानमा व्यवस्था गरिने जानकारी दिनुभयो ।
एक प्रश्नका जवाफमा उहाँले कानूनी विधि अपनाई अस्पतालको सेवासुविधा व्यवस्थित गर्न मुद्दा दर्ता हुनु राम्रो हो भन्दै चिकित्सक र स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने कार्यलाई तत्काल नियन्त्रण गरिने आश्वासन दिनुभयो ।
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले स्वास्थ्यकर्मीलाई असारसम्मको जोखिम भत्ता उपलब्ध गराइएको र साउनको चाँडै निकासा गरिने जानकारी दिनुभयो । कोशी अस्पतालका मेडिकल सुपरेडेण्टेन्ट डा चुमनलाल दास र कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्रका मुख्य चिकित्सक डा दीपक सिग्देलले बिरामीको प्रकृतिका आधारमा उपचार सेवा उपलब्ध गराइएको बताउनुभयो ।